विराटनगर । कोसी प्रदेश सभाबाट पारित भएको सङ्कल्प प्रस्तावको मुख्यमन्त्री केदार कार्कीले  अटेर  गरेका छन् ।  गत वैशाख ६ गते कोसी प्रदेश सभाको विशेष अधिवेशनबाट पारित भएको सङ्कल्प प्रस्ताव अनुसार वैशाख २५ गतेसम्ममा विश्वासको मत लिनु पर्नेमा त्यसको अपव्याख्या गर्दै  कार्यान्वयन नगरेका हुन् । 
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएनन् भनेँ राजीनामा समेत दिएनन्  । उनले संवैधानिक व्यवस्था अनुसार सरकारको सहयात्री दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिने समय गुजारेका हुन् । 
राजीनामा पनि नदिएपछि आजदेखि सरकारको कानुनी वैधता समाप्त भई कामचलाउ हैसियतमा परिणत भएको विपक्षी दलले दाबी गरेका छन् ।  २०८० चैत २६ मा माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा र प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।  उक्त मितिले मङ्गलवार नै ३० दिन पुगेको भए पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको कारण वर्तमान सरकार आजदेखि कामचलाउ हैसियतमा पुगेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । 
मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकारले एक पटक विश्वासको मत पाइसकेकोले फेरि पनि विश्वासको मत लिनु नपर्ने जिकिर गर्दै विश्वासको मत पनि लिएनन् भने राजीनामा समेत दिएनन् ।

मुख्यमन्त्री केदार कार्कीले  विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको विषयमा छलफल गर्न विपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दलहरूको बैठक अहिले बस्दै छ ।   मुख्यमन्त्रीको व्यवहार  र प्रदेश सभाको मर्यादामा नै आँच आउने गरी  प्रदेश सभाले पास गरेको सङ्कल्प प्रस्तावलाई समेत उल्लङ्घन गरेको आरोप विपक्षी दलको छ ।  विपक्षी दल एमाले, माओवादीले मुख्यमन्त्री विरुद्ध नेपालको संविधानको धारा १८७ (७)(८) बमोजिम  संसद्को विशेषाधिकार हनन गरेको आरोपमा लगाउने समेत बताउँदै आएका छन् ।