सुनसरी । इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनको रापताप बढेको छ । प्रतिनिधिसभातर्फ अहिले एउटा मात्र निर्वाचन क्षेत्रमा चुनाव हुन लागेकाले दलहरुले यसलाई प्रतिष्ठा र जनमतको परीक्षणका रुपमा लिएका छन् ।

परम्परागत दलहरु साख जोगाउने र फर्काउने लडाइँमा लाग्दा नयाँ दलहरु पूर्वबाट उदाउने रणनीतिमा छन् । अझ पहिचान पक्षधरहरुले पनि यो निर्वाचन क्षेत्रलाई आफ्ना मुद्दा स्थापित गर्ने अवसरका रुपमा लिएका छन् । त्यही कारण पनि यो क्षेत्रको चुनाव रोचक बनेको छ ।

इलाम क्षेत्र नम्बर २ मा २०७९ सालमा भएको चुनावमा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । सुवासको निधनपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि हुन लागेको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय मात्र बनाएका छैनन्, जनमत परीक्षणको उपयुक्त थलोका रुपमा लिएका छन् ।

२०५६ सालदेखि इलाम २ बाट लगातार एमालेका सुवास नेम्वाङले चुनाव जित्दै आउनुभएको थियो । अहिले एमालेलाई आफ्नो साख जोगाउनुपर्ने बाध्यता छ । यसकाण पनि एमालेले उनै सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको चुनावमा गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर जितेको यो क्षेत्रमा एमालेले यसपटक पनि जितेर राष्ट्रिय रुपमा आफू कमजोर नरहेको सन्देश दिन खोजेको छ ।

माओवादीसँग गठबन्धन गर्दा पनि गत निर्वाचनमा ११४ मतको झिनो अन्तरले पराजित भएको कांग्रेस यसपटक बदला लिने रणनीतिका साथ चुनावमा होमिएको छ । कांग्रेसले पुरानै उम्मेदवार डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । महासमिति बैठकबाटै चुनावी गठबन्धन नगर्ने निर्णय गराएको कांग्रेसलाई यो उपनिर्वाचन सिट बढाउने मात्रै होइन कि आफूले लिएको नीति ठीक हो भन्ने प्रमाणित गर्नुपर्नेछ ।

त्यसो त परम्परागत दलहरुले काम गर्न नसकेको र राजनीतिमा परिवर्तन जरुरी छ भन्दै आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने प्रयास गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि पनि यो उपनिर्वाचन महत्त्वपूर्ण छ । माओवादीबाट आएका मिलन लिम्बूलाई उसले उम्मेदवार बनाएको छ । गत वर्ष चितवन र तनहुँमा भएका दुई उपनिर्वाचन जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वबाट पनि खाता खोल्दै परम्परागत दलहरुलाई चुनौती मात्र दिन चाहेको छैन, वैकल्पिक शक्ति आफू नै हो भन्ने प्रमाणित गर्न खोजेको छ ।

त्यसो त इलाम २ को उपनिर्वाचनलाई पहिचान पक्षधरहरुले पनि आफ्नो माग जायज हो भनेर स्थापित गराउनुपर्ने चुनौती छ । कोशी प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका डकेन्द्रसिंह थेगिम पहिचान पक्षधरका तर्फबाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

इलाम २ को उपनिर्वाचन हरेक दलले एक सिट बढाउन मात्रै नभएर आफ्ना एजेन्डा स्थापित गर्दै जनता आफ्नो पक्षमा रहेको सन्देश दिने अवसरका रुपमा लिएका छन् । यसकारण पनि चुनावी प्रचारका लागि सबै दलका शीर्ष नेता इलाममा केन्द्रित छन् ।