विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 

विराटनगरको सहिद मैदानमा सोमबार राती सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो ।  जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ । 

जितको लागि एपीएफका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । ५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे । 

छैठौं संस्करणको विराट गोल्डकपको बिजेता समेत रहेको एपीएफले दश महिना पछि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च व्वाईजले  एपीएफलाई ४ –१  गोलले पराजित गरेको थियो । 

ंचर्चब्जाइजको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित निकालेको छ । आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रुपमा हेरिएको चर्चब्वाइजको लागि दुर्भाग्यपूर्ण बन्यो ।

हारपछि चर्चब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनु नै टोलीको लागि पराजयको अवस्था आएको बताए ।  

एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । ‘अघिल्लो खेलहरुमा पनि प्रदिप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपीएफको टिम सन्तुलित रहेको छ ।’

खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए ।  गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक गोल्डकप ट्रष्टका सचिव तथा प्रचार प्रसार संयोजक ध्रुव सिग्देलले जानकारी दिए ।