विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफूले नै कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको स्वीकार गरेका छन् । विराटनगरमा गुराँस पुस्तकालयको ५४ औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरे । 
तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । शीर्ष नेताहरूको  निर्णय विरुद्ध विद्रोह गर्दै उनी निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए  । 
यस अघि  गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा काँग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरे ।
‘प्रचण्डको सरकारमा हामी पनि थियौँ, उहाँले हठात् नेपाली काँग्रेसलाई भए नभएको कुरा गरेर कपोलकल्पित आरोप लगाएर जानुभयो । काँग्रेसले  कोशीमा मुख्यमन्त्री नदिएको समेत भन्नुभयो’ नेता कोइरालाले भने, ‘मै हो नदिने, हाम्रा नेताहरूले त लेउ तिम्रै सरकार बनाऊ भनेर त भनेकै हो ।  मैले हुँदैन भने, नेपाली काङ्ग्रेसकै नेतृत्वमा हुनुपर्छ भनेर भने ।’
राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी उम्मेदवार हारेपछि त्यसको दोष पनि प्रधानमन्त्री दाहालले काँग्रेसलाई लगाएकोमा असन्तुष्ट पोखे । उनले भने, ‘जित्न नसक्ने अनि हामीले हरायौँ ? त्यस्तो पनि कहीँ हुन्छ ?’
उनले मुलुकको लोकतन्त्र अझै सुदृढ बनाउनु पर्ने आवश्यकता रहेको बताए । कोइरालाले अहिले राजनीतिक उथलपुथल देखिएको र सुदृढ लोकतन्त्रको अभावमा धेरै विकृति विसङ्गति पनि आइरहेको बताए ।
उनले राजनीतिकमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको बताए । उनले गठबन्धन फेरिएको सरकार राम्रो चालोस् भन्दै शुभकामना दिए । तर राणा र राजासित लडेको काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिए । संसद्मा काँग्रेस कडा विपक्षीको भूमिकामा देखिने बताए ।