विराटनगर । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा उम्मेदवार छनौटका विषयमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक उम्मेदवार छनौटको विषयमा छलफल नै नगरी टुङ्गिएको छ । उप निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरे पनि को उम्मेदवार उठाउने भन्ने विषयमा भने बैठकमा छलफल नै हुन सकेन । आजको बैठकले उम्मेदवार नै टुङ्गो लगाएर जाने तयारी भएको थियो । बैठकमा इलाम क्षेत्र नम्बर २ बाट कसलाई उठाउने भन्ने विषयमा भने छलफल नै नभएको रास्वपा कोशी प्रदेशका अध्यक्ष राजेश तिम्सिनाले बताए । उनले अर्को बैठकले उमेद्वारको टुङ्गो लगाउने बताए । रास्वपाबाट उम्मेदवार बन्न १० जना भन्दा बढिले आकंक्षा देखाएका छन् । जसमा केन्द्रीय सदस्य रमेश प्रसाईँ समेत हुन् । यो बाहेक प्रेम सिंह थाम्सुहांगले समेत रास्वपाबाट उम्मेदवार बन्ने आकंक्षा देखाएका छन् । यस्तै पत्रकार मिलन लिम्बुले पनि राप्रपाबाट उम्मेदवार बन्ने आकंक्षा देखाएका छन् । अध्यक्ष तिम्सिनाले इलाममा हुने निर्वाचनमा स्थानीय उमेद्वारलाई प्राथमिकता दिने बताए । यस अघि फागुनको १९ गते रास्वापाका ६ जना सांसदहरुको टोलीले इलाम क्षेत्र नम्बर २ का पालिकाहरूमा गएर ५ सय भन्दा बढी परिवारलाई भेटेका थिए । उम्मेदवार छनौटका विषयमा उनीहरूले स्थानीयलाई प्राथमिकता दिनु पर्ने बताएकाले सोही अनुसार उम्मेदवार उठाइने तिम्सिनाले बताए । आसन्न उप निर्वाचनका विषयमा इलामको वस्तु स्थिति बुझ्न ६ जना संसद् ६ वटा पालिकामा गएका थिए ।