सुनसरी । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चार पटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो ।

एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

चार पटकको विजेता आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।