विराटनगर ।  विद्युत् नियमन आयोगले विद्युत् महसुल वृद्धि गर्ने तयारी गरिरहेको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति उद्योग सङ्गठन मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै हाल विद्युत् महसुलमा कुनै प्रकारको वृद्धि  नगर्न माग गरेको हो । उद्योग व्यवसाय क्षेत्रले दैनिक दश घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको वर्तमान समयमा निरन्तर विद्युत् उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न सङ्गठनले जोड दिएको छ । 
विभिन्न कठिनाइको सामना गर्दै हाल सञ्चालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रति युनिट विद्युत् तुलनात्मक रूपमा अन्य मुलुकको भन्दा बढी रहेको पनि सङ्गठनले भनेको छ।  अन्य मुलुक भन्दा बढी महसुल तिर्दा समेत  विद्युत् महसुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन मूल्यमा पर्न गई आम उपभोक्तामा महँगाइको मारमा पर्ने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताए । 
अध्यक्ष सुरानाले पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाइ भएको जनाए ।  विद्युत् पुरानो संरचनाका कारण सानो झरी, वर्षा, हावामा समेत अत्यधिक पावर कट भई उत्पादन प्रक्रिया रोकिनाले जेनेरेटर संचालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रास आई स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता नै ह्रास आइरहेको उनको भनाई छ । 

‘प्राधिकरणको महसुल भुक्तानीमा विलम्ब हुँदा उपभोक्तासँग जरिवाना लिने तर विद्युत् गुणस्तरका कारण उद्योगको मिल मेशिनरीमा आउने खराबीको जिम्मेवारी कसले लिन्छ, उनले भने, सङ्गठनले हाललाई उद्योगहरूले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युत् गुणस्तर, बारम्बार भइरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युत् उपलब्ध गराउन प्राधिकरणसँग माग गर्दछौँ ।’  अन्य सार्क राष्ट्रहरूले निर्धारण गरेको विद्युत् महसुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसँग सम्बन्ध राख्ने विद्युत् महसुल हाललाई यथावत् राखी कुनै प्रकारको वृद्धि नगर्न सङ्गठनले विद्युत् नियमन आयोग समक्ष माग गरेको छ ।