सुनसरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ । धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक-पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए । उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए ।

मेयर साम्पाङको आग्रहपछि मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो । नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

धरान बजारबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । 'हवाई नीति, २०६३' मा 'तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने' प्रावधान रहेको छ । यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि 'वान वे अप्रोच' मात्र सम्भव रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ । साथै विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।