विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको बिदाइ गरिएको छ । फागुन १८ गते कार्यकाल पुरा गर्न लागेका उपकुलपति कोइरालाको सोमवार बिदाइ गरिएको हो । 
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय र डीन कार्यालयहरूले केन्द्रीय कार्यालय गोठ गाउँमा एक समारोहका बिच बिदाइ गरेका हुन् । परीक्षा व्यवस्थापन कार्यालयले आफ्नै कार्यालयमा र कर्मचारी सङ्घ केन्द्रीय समितिले विराटनगरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी उपकुलपति कोइरालाको बिदाइ गरेका छन् । 
बिदाइ समारोहलाई सम्बोधन गर्दै उपकुलपति कोइरालाले विश्वविद्यालयमा हुने राजनीतिक र दातृसंस्थाको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिए । राजनीतिक हस्तक्षेपले शैक्षिक उन्नयनको गतिलाई अवरोध गर्ने भन्दै उपकुलपति कोइरालाले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न राजनीतिक दल र तीनका दातृसंस्थाहरूसँग आग्रह गरे । विश्वविद्यालयको शैक्षिक उन्नयन तथा विश्वविद्यालयले आफ्नो विज्ञताको आवश्यकता महसुस गरे जुनसुकै समयमा पनि आफू सेवा गर्न तयार रहेको उपकुलपति कोइरालाको भनाइ छ । विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने कुरा धेरै अगाडी बढेको प्रसङ्गको चर्चा गर्दै उपकुलपति कोइरालाले यसलाई चाँडै टुङ्ग्याउनु पर्नेमा जोड दिए । 
रजिस्ट्रार प्रा. नीलमणि पोखरेल, परीक्षा नियन्त्रक बालेन्दु हमाल, व्यवस्थापन संकायका डीन डा. सन्देश दास श्रेष्ठ, कर्मचारी सङ्घका अध्यक्ष रुपेश बस्नेत लगायतले उपकुलपति कोइरालाको कार्यकालमा भएका शैक्षिक उन्नयन र संरचनात्मक सुधारको चर्चा गरेका थिए । 

यही फागुन १८ गते उपकुलपति कोइरालाको कार्यकाल सकिदैछ । नयाँ उपकुलपति छनौटका लागि सरकारले सिफारिस समिति प्रकृया शुरू गरिसकेको छ । नयाँ उपकुलपतिका लागि १८ जनाले आवेदन दिएका छन् ।