विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । 

विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्समा मंगलबार राति आगलागी भएको थियो । राती नौ बजेतिर सुरु भएको आगलागी बुधबारको विहान एक बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले मिल्समा आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको र तीन वटा मेसिन जलेको जानकारी दिए ।

सरकारी स्वामित्वको मिल्स २०७८ माघदेखि बन्द थियो । बन्द रहेको मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट अचानक आगलागी सुरु भएको हो । 

जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेर क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुन सक्ने भए पनि दुई वर्षदेखि बन्द रहेको उद्योगमा एक्कासी आगलागी हुनुले घटना शंकास्पद देखिएकाले अनुसन्धान थालेको डिएसपी दाहालले बताए ।।