विराटनगर ।  विराटनगरमा सम्पन्न प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १७ ले जितेको छ । 
मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेल मैदान झटियाहीमा भएको खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै वडा नम्बर १७ विजयी भएको हो । आजै भएको सेमिफाइनल खेलमा वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर  १७ फाइनलमा प्रवेश गरेको थियो । उपाधि विजेता वडा नम्बर १७ ले नगद ३१ हजार रुपैयाँ तथा उपविजेताले नगद २१ हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वडा नम्बर १७ का खेलाडी मोहम्मद आलम र उदीयमान खेलाडीको पुरस्कार वडा नम्बर १४ का अनिस यादवले हात पारे ।   विजेता तथा उपविजेता टिमलाई नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापा लगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले खेलकुदको माध्यमबाट सबै समुदायलाई एकताको सूत्रमा बाँध्न सकिने भन्दै सबै खेल क्षेत्रको विकासको लागि सबै पक्ष लाग्नु पर्ने बताए । यस्तै एमाले विराटनगर अध्यक्ष सागर थापाले खेल क्षेत्रको विकासको लागि नेकपा एमालेले सधैँ साथ सहयोग गर्ने बताए । उनले मदन भण्डारी स्पोट्स एकेडेमीले विराटनगरको खेल क्षेत्रको विकास गर्न तथा खेलकुदका लागि विराटनगरको दक्षिणी क्षेत्रलाई प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गरे । प्रतियोगितामा विराटनगरका १२ वटा वडाको सहभागिता रहेको थियो ।