विराटनगर ।  विराटनगरमा मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ । 
मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गरे । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा बडाको सहभागिता रहेको छ । तीन दिने प्रतियोगिताको पहिलो दिन वडा नम्बर १४ र १७ विजयी भएका छन् । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ९५ –२० को अङ्कले हराएको हो ।
यस्तै वडा नम्बर १७ ले वडा नम्बर १ ले ४४ – २४ अङ्कले हराएको छ । वडा नम्बर ११ र २ नम्बर वडाबिच भएको खेलमा ११ नम्बर विजयी भयो । वडा नम्बर ११ ले ९९ – २२ अङ्कले हराएको हो ।  विजयी तीन टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगर महानगर कबड्डी सङ्घका अध्यक्ष उपेन्द्र यादवले भोलि पनि पहिलो चरणकै बाँकी खेल हुने र पर्सि सोमबार सेमिफाइनल र फाइनल खेल हुने जानकारी दिए । 
प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपविजेताले नगद २१ हजार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक हमिद आजादले बताए ।  यस्तै उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार दिइने जानकारी दिए  ।