विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औँ वार्षिकोत्सव मनाएको छ ।  विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रूपमा भगीरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको हो । त्यस्तै विद्यालयले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईँ, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ । सफाई कर्मचारी रिंकी मरिक र अम्विका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्त्वपूर्ण रहेको बताए । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलगायत विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरूले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको मेयर कोइरालाले बताए । आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेकोमा खुसी व्यक्त गर्दै उनले अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने धारणा राखे  । 

विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी दिए ।  २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको उल्लेख गरे  । आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलले बताए ।  पिताजी कृष्णप्रसाद कोइरालाले वि.सं. १९८६ मा स्थापना गरेको विद्यालयमा हाल ३ हजार ४७४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।