विराटनगर । इटहरी उप महानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्याथीहरुले एउटै पोसाक लाउनु पर्ने भएको छ । निजी र सामुदायिक विद्यालयका  विद्यार्थीबिचको विभेद हटाउन भन्दै इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । नगरपालिको आगामी  नयाँ शैक्षिक सत्रबाट उप महानगर भित्रका सबै विद्यालयमा एकै प्रकारको  पोसाक लगाउनु पर्ने निर्णय लिएको हो । 
इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन् । इटहरीमा  ६३ हजार ५ सय २६  विद्यार्थी अध्ययनरत रहेका छन्  । इटहरी भित्रका निजी तथा  सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एक खालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएको इटहरी उप महानगरपालिकाले जनाएको छ ।   इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको बताए । उनले भने, निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन् त्यो रोक्ने हाम्रो अभियान पनि हो मेयर पौडेलले भने ।