विराटनगर । नरेश खत्री २ वर्ष पहिला विराट व्यापार सङ्घको अध्यक्षमा निर्वाचित भएर आएका हुन् । साना व्यवसायीदेखि ठुला व्यवसायीको समेत नेतृत्व गर्दै आएको विराट व्यापार सङ्घले व्यवसायीका समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको जनाउँदै आएको छ। राज्यले साना व्यवसायीमैत्री नीति लिन नसकेको ठहर सङ्घको छ। विराटनगरका साना ठुला गरी २ हजार ५ सय बढी व्यवसायी आबद्ध विराट व्यापार सङ्घमा  एक वर्षको अवधिमा ७ सय बढी व्यवसाय नवीकरणमा आएका छैनन् । यसरी नवीकरण नहुनुमा आर्थिक मन्दीको असरको रूपमा खत्रीले लिएका छन् । आर्थिक समस्याको कारण ब्यवसायीहरुलाई निक्कै ठुलो समस्या रहेको उनले बताए । दुई वर्षको कार्यकालमा खत्रीले व्यवसायमा देखेका जटिलता र सहजताको बारेमा सञ्चारपाटीसँग कुराकानी गरेका छन् । कुराकानीको सार :

तपाई नेतृत्वमा आएको २ वर्ष भयो, बजारको अवस्थालाई कसरी लिनु भएको छ?
म विराट व्यापार सङ्घको अध्यक्ष भएर आएको दुई वर्ष पुग्यो । यो अवस्था भनेको कोभिड पछाडिको अवस्था हो । कोभिडको असर अहिलेसम्म पनि देखिएको छ। बजार चलायमान हुन सकेकै छैन । यही बिचमा बैङ्कहरूले पनि बैङ्कको ब्याजदर धेरै बढाएको कारण व्यवसायीहरू पनि मारमा परेको मैले महसुस गरेको छु ।  अब भनेँ सुधारकोलागि सरकारको नीतिले केही सजिलो र खुकुलो बनाएर गएको अवस्था छ ।  बैङ्कको ब्याजदर पनि कम हुँदै गएको अवस्थामा व्यवसायीलाई यसले केही सहज बनाउँछ र बजार चलायमान हुन्छ की भन्ने मैले सोचेको छु । 
अहिलेको बजारको समस्या के हो, तपाईँले भनेको जस्तो क्राइसिस कहाँ थियो ?
अहिलेसम्म बजार अप्ठ्यारो अवस्थामा नै छ । सरकारले उसको सूचकमा अर्थतन्त्र अत्यन्त राम्रो छ भनिरहेको सुनिन्छ । बजारमा अर्थतन्त्र एकदमै शिथिल छ । बजार चलायमान छैन, बजारमा पैसा छैन । मध्यम वर्गमा मानिसहरूसँग पैसा नभएको कारणले पनि बजार चलायमान हुन नसकेको हो । ठुलाबडासँग प्रशस्त पैसा छ, सरकारले के तथ्याङ्क हेरिरहेको छ भनेँ  रेमिट्यान्सबाट आएको रकमको तथ्याङ्क हेरेर मात्र अर्थतन्त्र राम्रो छ भन्ने कुरा मात्र हो ।  मलाई लागेको अर्थतन्त्र सुदृढ भएको छैन । विराटनगर नै हेर्नुस् या काठमाडौँका सटरहरू हेरे पुग्छ, सटरहरू खाली भएका छन् । सरकारले भनेको जस्तो हामी व्यापारीले सहज महसुस गर्न सकेका छैनौँ । 
अर्थतन्त्र राम्रो नहुनुको कारण तपाईँलाई के लाग्छ ?
राम्रो नहुनुको प्रमुख कारण भनेको सरकारको नीति नै गलत छ । अर्को कुरा जति पनि नेपालमा भएको जनसङ्ख्याको धेरै सङ्ख्या पलायन भई सक्यो । जब जनसङ्ख्या कम हुन्छ त्यसपछि सबै क्षेत्रमा असर पर्छ । त्यसैको असर अहिले खानेकुरा, लगाउने कुरा, भवन निर्माण गर्ने कुरामा पनि कमी हुँदै गएको छ।  करिब करिब १ करोडको हाराहारीमा नेपालको जनसङ्ख्या पलायन हुँदा  समग्र अर्थतन्त्र नै डगमगाएको हो भन्ने मैले ठानेको छु । सबै क्षेत्र नै अस्तव्यस्त भएको छ । मुख्य कारण भनेको नै वैदेशिक रोजगारी हो त्यसले सबै क्षेत्रमा असर पारेको छ भन्ने लाग्छ ।
विराट व्यापार सङ्घका सदस्यहरू पनि समस्यामा छन् त ? 
पक्कै पनि यसको असर विराट व्यापार सङ्घलाई मात्र हैन समग्र बजारलाई नै परेको छ भनेर मैले अघि नै भनिसकेको छु ।  हाम्रा सदस्यहरू २५ सय बढी रहेकोमा नियमित व्यवसाय नविकरणका लागि आउने मध्ये ७ सयको हाराहारीले अहिले नवीकरण नै गराएनन् । कोही विदेश गए, कोही सटर बन्द गरेर हिँडे, कोही व्यापार गर्न सकेका छैनन् यस्तो अवस्थामा हामीले के महसुस गर्न सक्नुपर्छ भनेँ बजारको स्थिति राम्रो छैन भनेर बुझ्नु पर्छ ।
सात सय व्यवसाय नवीकरण नहुनु भनेको व्यापार छाडे, पलायन भए भनेर बुझ्ने हो ?
यसलाई दुई रूपमा बुझ्न सकिन्छ । कतिपय पलायन नै भएका छन् । कतिपयको बजारमा पसल छ, व्यापार नै नभएको कारणले पनि जोडिन सकिरहेका छैनन् । धेरै व्यापारीहरूको कुरा व्यापार गर्ने की सटर नै बन्द गर्ने भन्ने स्थितिमा पुगेका छन् । 
अहिलेको अवस्था आउनुमा व्यापारीले चलखेल गरे पनि त भनिन्छ नि ?
हैन, यो विषयमा व्यापारीहरूको भूमिका छ भन्ने कुरा म मान्दिन । सरकारले आफ्नो नीति परिमार्जन गर्नु पर्छ । विराटनगर बजार र जोगवनीको बजारलाई मात्र हेरे पुग्छ । विराटनगर खाली हुन्छ, जोगवनीमा ग्राहको भिड लागेर टेक्ने ठाउँ हुँदैन । यसको कारण भनेको के हो भन्दा केही बस्तुहरूमा सरकारले लगाएको अत्यधिक भन्सार दर नै हो । भन्सार दरको कारणले गर्दा पनि त्यसको फाइदा जोगवनीका व्यापारीले लिइरहेका छन् भनेँ उपभोक्ताहरू त्यहाँको बजारमा केन्द्रित भएको देखिन्छ ।
यति धेरै समस्या रहेछन्, तपाईँ आएको दुई वर्षमा के गर्नु भयो त?
म नेतृत्वमा आएपछि धेरै विषयहरूलाई छलफल, ज्ञापन पत्र लगायतको माध्यमाबाट व्यवसायीको समस्याको बारेमा कुराहरू उठाएँ । बैङ्कको चर्को ब्याजदर विरुद्धको आन्दोलन, तात्काालिन अर्थमन्त्री विष्णु पौडेलसँग डेलिगेसन, सीमाबाट हुने चोरी निकासी लगायतको बारेमा सुरक्षा निकायसँगको छलफलबाट पनि धेरै कुराहरू अघि बढेका थिए । विराटनगर महानगरपालिकाका मेयर सहित सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी सहितको छलफलबाट विराटनगर भन्सारबाट एक सय बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गर्ने कामको नेतृत्व  विराट व्यापार सङ्घबाट नै भएको हो ।   भन्सारको कुरा सबै सङ्घीय सरकार भित्र रहेको कारणले स्थानीय सरकारले चाहँदा चाहँदै पनि यो कुरा कार्यान्वयनमा केही चुनौतीहरू देखिए । हाम्रा समस्याको बारेमा मन्त्री, प्रधानमन्त्रीलाई  ध्यानाकर्षण गराउने काम निरन्तर गर्दै आएको छु । 
तपाईँको दोस्रो पटक नेतृत्वमा दोहोराउने दाउ हो ?
हैन, मलाई एक पटक भन्दा बढी नेतृत्वमा बस्नु छैन । अहिलेसम्म जे गरेँ व्यवसायीको हितमा नै काम गरेको छु । कसैले तँ दोहोर्‍याउनु पर्छ भन्दैमा म नेतृत्वमा फेरी बसिरहने मनस्थितिमा छैन । हाम्रो व्यवसायी संस्था भएको कारण म भन्दा पछाडि पनि धेरै अब्बल व्यवसायी साथीहरू हुनुहुन्छ उहाँहरू नै नेतृत्वमा आउनुहुन्छ ।

भिडियो :-