विराटनगर  । हिसान स्पोट्र्स मिटको १२ औँ संस्करण बुधवारदेखि सुरु हुँदै छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।
हिसान मोरङले मङ्गलवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधवारदेखि हिसान स्पोट्र्स मिटको १२ औँ संस्करण गर्न लागेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।
‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।  खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ्य र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागूपदार्थको कुलतबाट युवाहरूलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोट्र्स मिट गर्न लागेको ढकालले बताए । २०६५ सालदेखि निरन्तर रूपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको हो । पढाइका साथै खेलकुद पनि विद्यार्थीहरूको एउटा अङ्ग भएको बताउँदै खेलकुदले विद्यार्थीहरूलाई शारीरिक तन्दुरुस्ती मात्रै नभई  उनीहरूको मन मस्तिष्कलाई पनि चलायमान बनाउँदै दुवै क्षेत्रका आफ्नो प्रतिभा देखाउन सक्ने उल्लेख गरे । 
हिसान स्पोट्र्स मिटमा हिसानसँग आबद्ध कलेजहरूले मात्रै भाग लिन पाउने छन् । यस पटकदेखि स्पोट्र्स मिटमा छात्रा फुटबल र कवडी प्रतियोगिता पनि गराइँदै छ ।  स्पोट्र्स मिटमा फुटबल  छात्र तथा छात्रा, क्रिकेट (छात्र), बास्केटबल (छात्र), कबड्डी  (छात्र) भलिबल (छात्र–छात्रा), टेबल टेनिस सिङ्गल र डब्लस् (छात्र–छात्रा), एथलेक्टिसका खेलहरू हुनेछन् । प्रतियोगितामा विभिन्न खेलमा २९ वटा कलेजहरूका १ हजार २ सय बढी विद्यार्थीहरूले सहभागी हुने आयोजकको दाबी छ। 

आयोजकको तर्फबाट विजेता तथा उप विजेता खेलाडीहरूले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरूले आन्तरिक रूपमा छात्रवृत्ति दिने घोषणा गरेका छन् ।