विराटनगर । कोशी कोभिड अस्पताललाई हृदय रोग केन्द्र बनाएर उद्घाटन गरिएको छ।  कोशी प्रदेश सरकार मन्त्री परिषद्ले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै सोमबार एक कार्यक्रमको आयोजना गरी केन्द्रको उद्घाटन भएको हो ।  उद्घाटन कार्यक्रममा बोल्ने अधिकांशले जनशक्ति  चुनौतीको रूपमा रहने चेतावनी दिएका छन् । 
मुख्यमन्त्री केदार कार्कीको निर्देशनमा बनेको हृदय रोग केन्द्र सञ्चालनको लागि अहिलेसम्म जनशक्ति नै नभएको पाइएको छ।  अस्पताल सुरु गर्नुभन्दा पहिला त्यसको कर्मचारी  संरचना तथा दरबन्दीको व्यवस्था गरेर ओएनएम सर्वेको आधारमा कर्मचारी भर्ना गरेर मात्र अस्पताल उद्घाटन र सञ्चालन गरिनु पर्ने व्यवस्था भए पनि हृदय रोग केन्द्रमा  यस सम्बन्धी विशेषज्ञ छैनन्  । 
khali kursi
हृदय रोग केन्द्र विशिष्टिकृत अस्पताल भएकोले यहाँ विशेषज्ञ सेवा दिइनु पर्ने  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले बताए ।  ‘शैलजा आचार्य हृदय रोग केन्द्र विशिष्टिकृत अस्पताल हो, उनले भने, अहिलेकै गतिमा अघि बढ्ने हो भनेँ नेपालकै नमुना अस्पताल बन्न सक्छ तर तत्काल जनशक्तिको अभाव देखेको छु ।’ 
हृदय रोग केन्द्र सञ्चालन गर्नकालागि कार्डियोलोजिष्ट डाक्टरहरू देशभर नै खोजी गरिएको भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले समेत फेला पार्न सकेन । देशभरि नै विशेषज्ञ कार्डियोलोजिष्ट फेला पार्न नसकेपछि प्रतिष्ठानका २ जना कार्डियोलोजिष्ट डाक्टहरुलाई केही दिनकोलागि ल्याईएको बस्नेतले बताए । ‘कार्डियोलोजिष्ट कुञ्जन शेर्पा र समिर पौडेल तत्काल सेवा दिन आउनु भएको छ, उनले भने, देशभरि नै कार्डियोलोजिष्ट नपाउँदा यी दुई डाक्टर अस्थायी रूपमा आउनु भएको हो ।’ मुटु रोग सम्बन्धी जनशक्तिको चरम अभाव रहेको  उनले बताए ।  उनले हृदय रोग केन्दलाई  जनशक्ति प्रशिक्षण केन्द्रको रूपमा समेत विकास गर्न सकिनेमा जोड दिए । 
मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाले  अहिलेको मूल समस्या भनेको जनशक्ति नै रहेको उल्लेख गरे ।  एउटा अस्पताल चलाउनकोलागि मनी, म्यानपावर र मेसिन रहेको उल्लेख गर्दै सबैभन्दा ठुलो समस्या जनशक्ति भएको बताए । ‘पैसा भ्रम हो, उपकरण खरिद भए पनि यो सञ्चालनमा च्यालेन्ज छ, कोइरालाले भने, जनशक्ति नै अहिलेको सबैभन्दा ठुलो च्यालेन्ज र अप्ठ्यारो  छ।’ हृदय रोग केन्द्र सुरु गरिएको भए पनि यसलाई व्यवस्थित बनाएर नागरिकको मन जित्न सक्नु पर्नेमा उनको जोड छ ।  
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनशक्तिको समस्या समाधान गर्न प्रदेश सरकारले डाक्टर पढाउने दाबी गरे ।  ‘जनशक्ति छैनन् भन्ने खालका कुरा हाम्रोलागि नयाँ हैन, उनले भने, त्यही भएर नै हामीले डाक्टर पढाउनकोलागि पैसा छुट्याएका छौँ, पढाएर भए पनि अस्पताल चलाउँछौँ ।’  कोशी प्रदेश सरकारले विशेषज्ञ नआएको अबस्थामा पनि एउटा डाक्टर पढ्न मन गरेको तर आर्थिक अभावको कारण ४०–५० लाख तिर्न नसक्ने  व्यक्तिलाई डाक्टर पढाएर ५ वर्षसम्म हृदय रोग केन्द्रमा ल्याएर काम गराउने बताए । 
प्रतिनिधि सभा सदस्य डाक्टर शेखर कोइरालाले नेपालका जनशक्ति ठुलो चुनौतीको रुपमा रहेको बताए । ‘बेरोजगार मात्र हैन राम्रो रोजगारी गर्दै आएका डाक्टरहरू अहिले विदेश पलायन भएका छन्, उनले भने, पलायन हुनुमा राम्रो सेवा सुविधा र संस्थाहरूमा हुन राजनीतिक हस्तक्षेप पनि हो, यो बारेमा सबैले मनन गर्नुपर्छ ।’  बनेको संस्थालाई सहज चलाउनको लागि त्यस संस्थामा राजनीतिकरण नगरी दक्षलाई चलाउन दिने हो भने संस्था चल्ने दाबी गरे ।  हृदय रोग केन्द्रलाई एउटा तालिम दिने गरी मात्र सञ्चालन गरेन नहुने बताएका कोइरालाले यसलाई प्रदेशले फरक रूपमा सोच्नु पर्ने बताए । 
dr koirala
नेपालका मेडिकल कलेजहरूले स्टाफ नर्स पढाउन छाडेको त्यसको असर भारतीय सीमा क्षेत्रमा १६५ वटा नर्सिङ कलेजहरू खुलेको तथ्य समेत कोइरालाले सार्वजनिक गरे । ‘स्टाफ नर्स नभई हस्पिटल चल्दैनन्, उनले भने, भएको जनशक्ति विदेश जाने अनि नयाँ उत्पादन गर्न नसक्ने हो भने हाम्रोलागि भोलीका दिनमा यो निक्कै ठुलो चुनौती हो ।’

नेकपा एमालेका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री तिलप्रसाद मेन्याङ्बोले अहिले प्रदेश सरकारले सुरु गरेको काम राम्रो भए पनि यसको दिगोपनाको बारेमा प्रश्न उठाएका छन्  । उने सरकार आएपिच्छे नाम परिवर्तन हुने कुरा ठिक नभएको समेत बताए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अहिले बनेको शैलजा आचार्य हृदय रोग केन्द्र भोलीका दिनकालागि पनि कायम गरेर जान सक्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, स्वास्थ्य सचिव डा सुधा देवकोटा लगायतले हृदय रोग केन्द्रको दिगोपनाको बारेमा धारणा राखेका थिए ।