विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपा बिच तालमेल हुने भएका छ । 
कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिएपछि एमाले र राप्रपाका बिचमा केही खटपट देखिए पनि राष्ट्रिय सभा निर्वाचनमा पुन एमाले र राप्रपाका बिच सहमति हुने भएको हो । 
राष्ट्रिय सभाको निर्वाचनमा राप्रपाले कोशीमा महिला तर्फ कसैलाई उम्मेदवार बनाएको छैन । उसले अन्य तर्फबाट भने उद्धव पौडेललाई उमेद्वार  बनाएको छ। 
राप्रपा श्रोतका अनुसार एमालेले उद्धव पौडेललाई सघाउने र महिला तर्फ एमालेका उमेद्वारलाई राप्रपाले सघाउने सहमति भएको हो । 
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले भने,‘ लगभग भएको छ । आज उद्घोष हुन्छ । आज पत्रकारहरूलाई खबर गर्छौ ।’ 
कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि अन्य तर्फबाट एमालेका परशुराम अधिकारीलाई  उम्मेदवार बनाएको छ । एक्ला एक्लै चुनावमा जाँदा जित हासिल गर्न सक्ने अवस्था नभएपछि तालमेल गरिएको एमाले श्रोतको दाबी छ । एमालेले अधिकारीलाई ब्याक गराउने र महिला तर्फका उम्मेदवार सुनसरीकी रुक्मिणी कोइरालालाई  जिताउने रणनीति बनाएको छ । 
कोशी  प्रदेशमा हाल कोशीमा राष्ट्रिय सभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेश सभा सदस्य ९३ जना र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।  राष्ट्रिय सभामा प्रदेश सभाका सदस्यको मत भार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ ।  कोशी प्रदेशमा मतदाताको कुल मत भार १० हजार १३५ रहेको छ । 
कोशी प्रदेशको सबैभन्दा ठुलो पार्टी एमाले हो, जोसँग छन् ४० सांसद । त्यसपछि क्रमशः काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेश सभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कुल मत भार ४ हजार ९२९ हुनेछ  । 
स्थानीय तहतर्फ यस प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली काँग्रेसका ११३ जना प्रमुख–उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको छ । 
प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, काँग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मत भार देखिन्छ । 
सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ ।  बाँकी रहेका एमाले–राप्रपा र स्वतन्त्र सबै मिल्दा कुल मत भार ४हजार ६९९ हुने छ ।  
सिटौलालाई झड्का 
सत्ता गठबन्धनले भने अन्य तर्फ प्रतिनिधि सभामा झापा क्षेत्र नम्बर ३ बाट पराजित कृष्ण प्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिला तर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । 
एमाले र राप्रपाले छुट्टा छुट्टै उम्मेदवार उठाउँदा सहज ठानेका सिटौलालाई तालमेलले भने चुनौती थपिएको छ । 
काँग्रेस भित्रको आन्तरिक किचलो अझै मिली नसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती छ । 
अघिल्लो पटक राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार भएका हेमराज राई पराजित भएका थिए । उनी गठबन्धनको तर्फबाट जनता समाजवादीबाट उम्मेदवार भएका थिए । 
राप्रपा र एमालेको तालमेल हुँदा मत भार धेरै फरक नभएकाले सहज जितको अपेक्षा सहित  प्रदेश दौडाहा गरेका सिटौलालाई समस्या देखिएको छ  । 
असोजको २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न केदार कार्कीले पार्टी भित्रैबाट विद्रोह गरेका थिए । उनी सहित ८ संसद् लिएर विद्रोह गरेका कार्कीलाई एमालेले समर्थन गरेको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की सहितलाई कारबाही गरिनु पर्छ भन्ने माग सिटौलाले उठाएको भन्दै उनको आलोचना भइरहेको छ । 
पार्टीमा विद्रोह गरेका ८ जना प्रदेश सभा सदस्यलाई कारबाही गरिनु पर्छ भने सिटौलाले पार्टी सभापति देउवा समक्ष कारवाहीका लागि दबाब बढाएका थिए । यो बाहेक कोशी प्रदेशमा उनी निकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि रहेको छ । 
थापा संसदीय दलको नेता भएपछि २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । एक पटक बहाल बाला सभामुखको हस्ताक्षर गराएर बहुमत देखाएका थापाले अर्को पटक भने, सभा सञ्चालन गरेका सभा अध्यक्षलाई विश्वासको मत पु¥याउन मतदान गराएका थिए । 
उनलाई दुवै पटक अदालतले बरखास्त गरेपछि पार्टीको छवि गिराएको भन्दै कोशी प्रदेशमा सिटौला समूहको आलोचना हुँदै आएको छ ।