सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन ठाडो निर्देशन दिएका छन् । तर समस्याको चुरोमा भने प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेर बहादुर देउवा नै छन् ।

प्रधानमन्त्री दाहालले निर्देशन दिएसँगै प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की आजै साँझ धरान आएका छन् । उनले सम्भवतः भोलि नै बैठक बोलाउने बताए । यता प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले २१ दिनभित्र सिनेटको बैठक बोलाएर समस्याको समाधान गर्न भनेका छन् । कायम मुकायम उपकुलपति कार्कीले २६ गतेभित्रै सिनेटको बैठक पनि बोलाउने बताए ।

तर प्रतिष्ठानभित्रको खेल भने रोचक छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गर्ने भन्ने होडबाजी छ । त्यही कारण यहाँको विवाद मिल्न सकेको छैन र ८ दिनदेखि सेवा प्रभावित हुँदै आएको छ ।

कांग्रेस र माओवादी केन्द्रले आफूनिकटमा व्यक्तिलाई उपकुलपतिमा नियुक्ति गर्न खोज्दा प्रतिष्ठानको सेवा ठप्प भएको हो । धरान उपमहानगरपालिकाका प्रमुखले उपकुलपतिको कार्यकक्षमा लगाएको ताला उच्च अदालत विराटनगरको आदेशपछि शुक्रबार खोलिए पनि कर्मचारीको आन्दोलन रोकिएको छैन । दुई पार्टी निकट कर्मचारीले उपकुलपति नियुक्तलाई प्रतिष्ठानको विषय बनाएर छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् । 

कांग्रेसले कायममुकाय उपकुलपतिमा डाक्टर प्रह्लाद कार्कीलाई नै उपकुलपति बनाउन खोजेको छ । कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको साथ छ । उता माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूनिकट डाक्टर गुरु खनाललाई उपकुलपति बनाउन चाहेका छन् ।

माओवादी केन्द्रलाई विपक्षी एमाले निकट चिकित्सक सञ्जीव शर्मा र डाक्टर विक्रम श्रेष्ठको साथ छ । बीपीमा अहिले माओवादी केन्द्र निकटको नेपाल प्रगतिशील चिकित्सक संघका अध्यक्ष मधुर बस्नेतको नेतृत्वमा आन्दोलन भइरहेको हो । 

स्रोतका अनुसार कार्की आफू उपकुलपति नबने प्रतिष्ठानमै कार्यरत आफ्नी श्रीमती संगीता भण्डारीलाई बनाउने लबिइङमा लाग्दा पनि समस्या बल्झिएको हो ।