विराटनगर ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा  ताला लगाएका छन् ।मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैले ताला लगाएका हुन । ताला लगाएपछि मेयर साम्पाङले कार्कीले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनी पूर्ण स्ट्याटस लेखेका छन् । उनले लेखेका छन् 'बि.पी. अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !'

बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तह गत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरूको आन्दोलनका कारण सेवा प्रभावित भएको छ ।बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन् । उनले आवश्यक परेका बेला म आफैँ आएर खोल्ने बताए ।

मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए ।

प्रतिष्ठानका उपकुलपति कार्कीले प्रतिष्ठानका रजिस्ट्रार प्रा सूर्यप्रसाद सङ्ग्रौलाको अधिकार खोस्ने पत्र सार्वजनिक भएसँगै मेयर साम्पाङले आफैले ताला लगाएका हुन । कार्कीले आन्तरिक, बाह्य पत्राचार र मुद्दा, मामिला सम्बन्धी कार्यहरू समेत हेर्न नपाउने गरी अपमानजनक रूपमा रजिस्टारमा निहित अधिकार समेत खोसेको पत्र सार्वजनिक भएको छ । 

कामु उपकुलपति कार्कीले पोष २९ गतेको मितिमा रजिस्ट्रार सङ्ग्रौलालाई ‘अख्तियारी फिर्ता गरिएको’ पत्र लेखेका थिए ।