विराटनगर । धरानमा क्रियाशील राजनीतिक दलका नेताहरूले बिपी प्रतिष्ठानमा शिक्षक, कर्मचारीको आन्दोलनका उपचारमा प्रभाव परे हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । आन्दोलनका कारणले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्योपचारमा  प्रभाव परे  दलहरूले प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै दलहरूले आन्दोलनको कारणले अस्पतालको शैक्षिक तथा स्वास्थ्य उपचार जस्तो संवेदनशील विषयहरू प्रभावित भए राजनीतिक दलहरूले प्रतिष्ठानको प्रशासनमा हस्तक्षेप बढाउन बाध्य हुने बताएका छन् । 
तहगत वृद्धि नभएको भन्दै आइतबारबाट चिकित्सक र कर्मचारीहरूले बहिरङ्ग सेवा बहिस्कार गरेका छन् । उनीहरूको आन्दोलनका कारण बिपी प्रतिष्ठानको सेवामा प्रभाव परेको छ । चिकित्सक र कर्मचारीले सेवा बहिस्कार गरेको भोलीपल्ट दलहरूले विज्ञप्ति निकाल्दै राजनैतिक दलहरूको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूको तर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाई अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । 
प्रतिष्ठानमा शिक्षक तथा कर्मचारीहरूले ९ वर्षदेखि रोकिएको बढुवाको माग राखी आन्दोलन गरिरहेको कुरामा राजनीतिक दलहरूले समस्या समाधान गर्न पदाधिकारी तथा आन्दोलनकारी शिक्षक, कर्मचारीहरू सँग संवाद गर्ने, माथिल्लो तहका नेतृत्व नेपाल सरकारसँग लबिङ गर्ने कार्य निरन्तर गरेको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा नेपाली काँग्रेस धरान नगर सभापति श्याम  पोख्रेल, नेकपा एमाले नगर अध्यक्ष नेकपा एमाले मनोज भट्टराई अध्यक्ष नेकपा माओवादी केन्द्र, ताजुब  लिम्बू अध्यक्ष जसपा नेपाल, एकीकृत समाजवादी पाटीका अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेका छन् ।