धनकुटा । धनकुटाको हिले बजारको सडक पेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रूपमा राखिएका सामान धनकुटा नगरपालिकाले जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडक पेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
तोङ्वा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानी टङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख रबी खत्रीले जानकारी दिए । सडक पेटी मिचेर राखिएका सामान हटाउन बजार व्यवस्थापन समिति र वडा कार्यालयले पनि पहल गरेको थियो । नगर प्रहरीले सामान हटाउन यसअघि पटक–पटक आग्रह गरेको थियो ।
सडक पेटी र सार्वजनिक स्थलमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गर्नेहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘सडक पेटी मिचेर अव्यवस्थित रूपमा सामान राख्दा पैदल यात्रीलाई हिँड्न समस्या हुन्छ, सहरको सौन्दर्य पनि राम्रो देखिँदैन, त्यसैले सामान हटाउनका लागि नगर प्रहरीले पटक–पटक आग्रह गरेको थियो,’ मेयर तामाङले भने, ‘कतिपयले सामान हटाउनु भयो, जसले अटेर गरेर हटाउनु भएन उहाँहरूको सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।’
 सडक पेटी मिचेर अव्यवस्थित रूपमा सामान नराख्न मेयर तामाङले आग्रह पनि गरेका छन् । ‘आफ्नो पसल भन्दा बाहिर सडक पेटीमा लगेर समान नराख्नुस्, सबैले यसो गर्‍यो भने बजार पनि राम्रो देखिन्छ । सडक पेटीमा हिँड्नेहरूलाई पनि सजिलो हुन्छ’, व्यापारीहरूलाई लक्षित गर्दै मेयर तामाङले भने ।
सडक पेटीमा सामान राख्दा आवतजावतमा समस्या भएको पैदल यात्रीहरुले गुनासो गर्ने गरेका छन् । धनकुटा बजारमा पनि यो समस्या छ । धनकुटा बसपार्क क्षेत्रबाट नगर प्रहरीले पटक–पटक सामान जफत गर्ने गरेको छ । बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व भएकाले सडक पेटीमा सामान नराख्न प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले पनि आग्रह गरेका छन् ।
यसैबीच, हिले बजारबाट नियन्त्रणमा लिइएको सामान नगरपालिकाले जरिवाना तिराएर फिर्ता दिने भएको छ । सरसफाइ एवं शहरी सडक व्यवस्थापन कार्यविधिमा जरिवाना तिराएर सामान फिर्ता दिन सक्ने वा सामान बिक्री/लिलाम गरी नगरपालिकाको कोषमा रकम जम्मा गर्न सक्ने प्रावधान छ । त्यसैले, तीन दिनभित्र सामान धनी बुझ्न आएमा जरिवाना लिएर सामान फिर्ता गरिनेछ । अन्यथा, सामान बिक्री÷लिलाम गरिने नगरपालिकाले जनाएको छ ।