विराटनगर । विराटनगर महानगरपालिकाले बरामद गरेको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । 
विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बरामद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको महानगरको निष्कर्ष छ  । 
महानगरले बुधवार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । गुट्खा, तुलसी, खैनी लगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।  यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।  महानगरले भनेको अटेर गर्नेलाई जरिवाना समेत गर्ने गरिएको पौडेलले बताए । 
महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एक जना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै फेरी बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको हो ।सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाइमा समेत सहयोग पुगेको महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । 
“विराटनगरका सडकहरूमा आज सुर्तीजन्य पदार्थका खोलहरू त्यति देखिँदैन, गुट्खा खाएर थुकेको पनि भेटिँदैन, कोइरालाले भने, एकै चोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ, यो अभियानमा नागरिकको पनि साथ र सहयोग चाहिन्छ ।’ 
महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ । महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ ।