विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा तीन दिने किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको छ । 
तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन्  ।  उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरूमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताइन्  । 
आत्मरक्षा सम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो । 

विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् । तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरू सहभागी छन् । ६ देखि १२ कक्षासम्म अध्ययनरत १५५ जना किशोरीहरूको तालिममा सहभागिता रहेको शर्माले बताइन् ।  उनीहरूलाई मार्सल आर्टसका प्रशिक्षकसहित विषय विज्ञहरूले आत्मरक्षा सम्बन्धी तालिम दिनेछन् । बाल अधिकार, यौनजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्टसका विधिहरू सिकाइनेछ ।