सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही काम हुन नसकेको भनेर भ्रम फैल्याइएको आरोप लगाएका छन् । सुनसरीको भोक्राहा नरसिंहस्थित बिधुत सब स्टेसन उद्घाटन कार्यक्रममा उनले देशमा केही भइरहेको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको दाबी गरे ।
प्रधानमन्त्री दाहालले सरकार गठनको एक वर्षको अवधिमा धेरै काम भएको उल्लेख गर्दै अब केही विषयमा क्रमभङ्ग गर्ने बताए । प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेकाले अब नयाँ ढङ्गले केही धक्का दिएर क्रमभङ्ग गर्दै काम गर्ने बताए । तर के कस्तो क्रमभङ्ग त्यो भने उनले प्रस्ट पारेनन् ।
उनले देशमा केही छैन भन्दै जनतालाई निराश पार्ने भाष्य खडा गरिएकाले यो भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गरे । दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताए ।
करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सब स्टेसनको उद्घाटन गरिएको हो । सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने प्राधिकरणले जनाएको छ । यही सब स्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा-पूणर्िया ४०० केभी अन्तर देशीय र नेपाल, भारत तथा बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा-अनार मनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।
पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सब स्टेसन अर्को ठुलो हब बनेको प्रधानमन्त्री दाहालको भनाई छ ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत यो सब स्टेसनमा जोडिने बिधुत प्राधिकरणले जनाएको छ