विराटनगर । उद्योगी राजेन्द्र राउतले  सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । नेपालबाट बर्षेनी हजारौँको सङ्ख्यामा नेपालीहरू भारत लगायत विभिन्न देशहरूमा स्वास्थ्य उपचारको लागि जानुपर्ने तितो यथार्थलाई महसुस गर्दै  कोशी प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन लागिएको हो ।  देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए । 
स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शय्या क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ । हाल यसलाई १०० शय्याको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । 
नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी निर्माण हुन गइरहेको अस्पताललाई आर.आर. इन्टरनेट अस्पतालको रूपमा नामकरण गरिएको छ । यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा राउतले बताए ।
अस्पताललाई उत्कृष्ट केन्द्रका रूपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने महत्त्वपूर्ण केन्द्र बनाउन लागिएको छ, राउतले भने,  अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराइने  छ ।
यसको अलावा अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मूत्र रोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाड जोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरिएको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने भनिएको छ।   स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्त्वपूर्ण पाटो भएकाले उपचार विभागलाई  अन्तर्राष्ट्रिय स्तरको बनाइने राउतले जानकारी दिए ।  अस्पताल निर्माणमा करिब २ सय ५० करोड लाग्ने अनुमान गरिएको छ ।  उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका राउतले स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेका हुन् । 
अस्पताललाई एउटा व्यवसायी घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पत्ति र सबै सेवाग्राहीको विश्वासको केन्द्रका रूपमा स्थापित गराउने उद्देश्य राखिएको उनले बताए ।  

हाल चुनढुङ्गा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका राउतले  विभिन्न उत्पादन मूलक उद्योग तथा व्यवसायहरू  जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोबार सञ्चालनमा रहेका छन् भने निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पाँचतारे होटेल सञ्चालनको तयारीमा छन् ।