स्थानीयसँग समन्वय नै नगरी प्रदेश प्रहरी अस्पताल सारिएको भन्दै बेलवारीका  जनप्रतिनिधि तथा दलहरूले विरोध जनाएका छन्  । बेलवारी नगरपालिकाले पत्रकार सम्मेलन गर्दै २०७९ फागुन १० गते उद्घाटन भएको प्रदेश प्रहरी अस्पताल रातारात इनरुवा लगिएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले सुनसरी जिल्लालाई लक्षित गरी अस्पताल सारेको आरोप स्थानीय जनप्रतिनिधिको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य तथा बेलवारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदीले प्रदेश प्रहरी कार्यालयका  प्रमुखको स्वार्थमा अस्पताल सारिएको आरोप लगाए । भन्दा ठाउँ नभएकोले सारिएको भनिएको भए पनि नगर अस्पतालको १९ करोड बढीको लागतमा  बन्दै गरेको भवनमा प्रादेशिक प्रहरी अस्पताललाई व्यवस्थित गर्न सकिनेमा स्थानीय तहलाई समेत थाहै नदिई अस्पताल सारिएको उनले बताए ।
मोरङ बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरूले आपत्ति प्रकट गरेका हुन् ।  मङ्सिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको  छ  । गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले १५ बेड क्षमताको अस्पताल उद्घाटन गरेका थिए ।  अस्पताललाई व्यवस्थित गर्ने नगरपालिकाको तयारी भई रहेका समयमा अस्पताल एकाएक विना जानकारी बेलबारीबाट इनरुवा सारिएकोप्रति नगरपालिकाले खेद व्यक्त गरेको उपप्रमुख नितु थापाले बताइन् ।   कोशी प्रदेश प्रहरी अस्पताललाई व्यवस्थित गर्नका लागि चिकित्सकको आवास व्यवस्थापन, रङ रोगन, इन्धन लगायतका सामग्री, एसीको प्रबन्ध गरिएको भए पनि   थाहै नदिई एकाएक अस्पताल सारिएकोमा उनले खेद व्यक्त गरिन् ।   नगरपालिकाले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी अस्पताल व्यवस्थापनका लागि भनेर १० लाख विनियोजन गरिएको थापाको भनाई छ ।  नगरपालिकाले सुरक्षा निकायकोलागि भन्दै वार्षिक १५ लाख बढी इन्धनमा खर्च गर्ने गरेको  जनाएको छ । 
बेलबारी नगरपालिका ४ बुधबारेमा मा १० करोड ५९ लाखको लागतमा निर्माणाधीन अस्पताल भवन प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने समेत नगरपालिकाले योजना रहेको थियो । नगरपालिकाले आवश्यक सहयोग नगरेको भन्ने भ्रम फैलाएर प्रदेश प्रहरी अस्पताल हटाइएकोमा उनले असन्तुष्टि व्यक्त गरिन्  ।  ‘नगर अस्पतालको भवनबाट प्रहरी अस्पताल सञ्चालनको तयारी भइरहेको समयमा नगरपालिकालाई जानकारी नगराई रातारात सारिनु दुःखद हो  उनले भनिन्,  नगरपालिका गैह्र जिम्मेवार हुनै सक्दैन हामीले प्रदेश प्रहरी अस्पताल स्थापना र सञ्चालनको लागि सक्ने सहयोग गरेकै छौँ ।’
बेलवारी नगरपालिकाको अगुवाइमा   प्रदेश सभा सदस्यहरू समेतको उपस्थितिमा  अस्पताल अगाडी सडकमा पत्रकार सम्मेलन गरिएको थियो ।  पत्रकार सम्मेलनमा  दलका नेताहरू पनि सहभागी  थिए ,।  बेलवारी नगरपालिकामा क्रियाशील राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रहरी अस्पताल सोही ठाउँमा स्थापना हुनु पर्ने बताएका छन् । बेलवारीबाट सारिएको प्रदेश प्रहरी अस्पताल अहिले इनरुवामा रहेको जिल्ला समन्वय समितिको एउटा घरमा लगेर राखिएको छ। 

अस्पताल संचालनकोलागि ५ बिगाहा जग्गा चाहिने बताउँदै आएको प्रदेश प्रहरी कार्यालयले तत्काल जग्गा उपलब्ध नभएपछि त्यहाँबाट सारिएको बताउँदै आएको छ। डिआइजी राजेशनाथ बास्तोलाले  जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराउने भनेपछि इनरुवा सारिएको बताए ।