बिर्तामोड । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेची राजमार्ग ट्रक कमिटीको चौथौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षकालागि नयाँ नेतृत्व चयन गरेको छ । 
मेची राजमार्गमा सञ्चालित करिब ६ सय ट्रकमा काम गर्ने चालक, सहचालक तथा स्वरोजगारहरूको पेसागत हक, हित, अधिकार र सुरक्षाका लागि क्रियाशील नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मेची राजमार्ग ट्रक कमिटीको चौथौं अधिवेशनले ११ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको हो ।  अधिवेशनमा मेची राजमार्गमा ट्रक चालकका रूपमा कार्यरत दुई जना चालकहरूलाई अनुशासित र उत्कृष्ट चालकका रूपमा सम्मान गरिएको छ ।सम्मानितहरूमा कमल आचार्य र चन्द्र लिम्बू रहेका छन् । 

सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वला राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सङ्गठनका केन्द्रीय उपमहासचिव देवीप्रसाद भट्टराई, नेपाल कृति तथा बगान क्षेत्र श्रमिक सङ्घ का संयोजक सन्त राई, सङ्गठनका केन्द्रीय सदस्य खडानन्द भण्डारी, सङ्गठन कोशी प्रदेश अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, कोषाध्यक्ष काजी राई र जिफन्ट झापा जिल्ला संयोजक खेम पोख्रेलको आतिथ्यता रहेको थियो ।