विराटनगर । सुनसरी मोरङका पूर्व पश्चिम सडक खण्डको चार कोशे जङ्गल क्षेत्रमा जङ्गली हात्तीले विध्वस्स मच्चाउन थालेको छ । २५ भन्दा बढी जङ्गली हात्ती  सुनसरी मोरङका जंजल क्षेत्रमा धन जनको क्षति पुर्याने गरेका छन् । 
लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे समेत मारेको प्रहरीले जनाएको छ । 
एक सात नबित्दै हात्तीको आक्रमणमा परि दुई जनाको ज्यान गएको छ ।  मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका कमल माझीको सोमबार बिहान मृत्यु भएको छ । 
बेलबारी नगरपालिका–१० भाउन्नेमा जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो । 
बाटो हिँड्नेहरूले जङ्गलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मी मार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । यस अघि बुधवार राती इटहरी २ का रविन खड्काको पनि हात्तीको आक्रमणमा परि ज्यान गएको छ । गाउँमा साँझ नपर्दै हात्ती आएपछि उनी खेदाउन गएका थिए ।