इटहरी । इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अस्वाभाविक देखिएको कर राजश्व र दस्तुर समायोजन हुने बताएका छन् । उनले इटहरीमा कर बढाएको विषयमा विरोध भएकाले अस्वाभाविक देखिएका करको दर घटाउन तयार रहेको बताए  । अहिले मेयरले कर घटाउन नमाने जस्तो गरी प्रचार गरिएको भए पनि यथार्थमा त्यस्तो नभएको बताए ।
उनले जनतालाई मर्का परेको देखिएकाले आगामी पुसमा हुने नगर सभाबाट सहमतिमा करको दरमा समायोजन हुने पौडेलले बताए । आर्थिक ऐन २०८० सबैको सहमतिमा पास भएको दाबी गर्दै पौडेलले करको दरको समायोजन पनि सबैको सहमतिमा हुने बताए । इटहरीमा एमालेको बहुमत छ । बहुमत एमालेको सहमतिमा ऐन पास भएको भए पनि अहिले एमालेले राजनीति गरेको आरोप लगाए ।
उनले भने एमालेले आफू मात्रै कर घटाउन लागेको जसरी प्रचार गरेको छ । हामी विशेष नगर सभाबाट होइन पुसमा हुने सेड्युलको नगर सभाबाट कर समायोजन गर्न तयार छौ ।  यसका लागि कर तिर्ने समय थप गर्न परे पनि उप महानगरपालिका तयार रहेको बताए । 
एमालेले कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष नगर सभाको  माग गरेको हो । 
इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् ।
 इटहरी उप महानगरपालिकामा उप मेयर सहित १४ वटा वडामा एमालेले जितेको छ । इटहरीमा रहेका २० वटा वडा मध्ये मेयर र ५ वटा वडामा काँग्रेसले जितेको छ । एउटा वडामा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका रमेश चौधरी विजयी भएका छन् । उनी पनि अहिले एमालेमै फर्किएका छन् । 
राजश्व परामर्श समितिको संयोजक सहित कार्यपालिकामा बहुमत रहेको एमाले अहिले करको दर घटाउने विषयलाई लिएर आन्दोलनमा छ ।  
एमाले इटहरी उप महानगर संसदीय दलका नेता प्रमोद शेर्पाले  राजश्व परामर्श समिति र कार्यपालिकामा छलफल नै नगरी आर्थिक ऐन अन्तिम समयमा नगर सभामा पेस भएकाले आफूहरूले अध्ययन नै नगरी पास गर्नु परेको स्वीकार गरे । 
उनले भने,“षडयन्त्र पूर्वक नगर सभाको अन्तिममा एन ल्याइयो । छलफल गरौँ भनेर भन्दा छलफल गर्दा समय लाग्छ नगर सभामा ढिलाइ हुन्छ भन्दै टुङ्गो लगाइयो । हामीले पनि राजश्व परामर्श समितिमा छलफल भएर आएको भनेर पास गर्न सहमति ग¥यौ । ऐनमा उल्लेख भएका कर, राजश्व र दस्तुरका विषयमा छलफल नै नभई मेयरको तजबिजबाट आएको रहेछ ।”
नेकपा एमाले इटहरी उप महानगरपालिकाका कार्य बाहक अध्यक्ष रुपेश बस्नेतले एमालेले आर्थिक ऐन पास गरेको विषयमा जनतासँग माफी मागेको बताए । नगरपालिकामा रहनु भएका एमालेका जनप्रतिनीधिहरुलाई झुक्काएर ऐन पास गराइयो उनले भने यस विषयमा पार्टीले माफी माग्दै कर, राजश्व र दस्तुर समायोजन गर्न माग गरेको बताए ।