विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसा पत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसा पत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमूलक उद्योगको तर्फबाट कोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको सङ्ख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारी र कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थिति थियो । उद्योगपति गोल्छाले नेपालमा औद्योगिकीकरणको आरम्भ गर्ने आफ्ना हजुरबा स्वर्गीय रामलाल गोल्छाको ड्रिम प्रोजेक्टका रूपमा रहेको जुट उद्योगलाई आफूले निरन्तरता दिएको बताए । 

उनले जुट उद्योगका कारणले नै आफूले प्रशंसा पत्र पाउँदा आफ्ना कर्मवीर हजुरबाको समेत सम्मान भएको अनुभव भएको प्रतिक्रिया व्यक्त गरे । सुनसरीको दुहबीमा विगत ३१ वर्षदेखि सञ्चालित अरिहन्त मल्टिफाइबर्समा ४२ सय श्रमिक कार्यरत छन् । यसमध्ये ४० प्रतिशतभन्दा बढी महिला श्रमिक भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँले बताए ।

बजगाईँका अनुसार दैनिक ८५ मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगका सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् । उद्योगले बर्सेनि ५ सय करोडभन्दा बढी मूल्यका जुटका सामग्रीको निर्यात गरिरहेको छ ।

बोरा, सुतली र ह्यासियन कपडाको उत्पादन गरिरहेको उद्योगले गत वर्षदेखि जुटका सोपिङ ब्याग र लेनो कपडाको पनि उत्पादन गरिरहेको छ । लेनो कपडा जालीजस्तो हुने र सडक कालोपत्रे गर्न तथा पहाडमा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण गर्न काम लाग्ने बजगाईँले बताए ।