विराटनगर । कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरूका बिचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ ।
तिहार अगाडि नियुक्ति नभए पनि दलहरूका बिचमा राजनीतिक नियुत्तीका विषयमा सहमति भएको हो ।
मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रवार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए ।
शुक्रवार भएको बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तका विषयमा सहमति जुटेको हो ।
उमेर हदका कारण कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले अनिवार्य अवकाश पाउँदै छन् । उनको ठाउँमा माओवादीका तर्फबाट अध्यक्ष नियुक्त गर्ने सहमति जुटेको छ ।
यस्तै प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव भने एकीकृत समाजवादीलाई नै दिने सहमति भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव समाजवादीकै कोटाबाट हंस राज वाग्ले छन् । उनलाई निरन्तरता दिने की नयाँ नियक्ती गर्ने भन्ने विषयमा भने समाजवादीले टुङ्गो लगाउने छ ।
समाजवादी भित्र उनको ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्नु पर्ने विषयमा विवाद रहेको छ ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा भने मुख्यमन्त्री केदार कार्कीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई नियुक्त गरिसकेका छन् । उनी काङ्ग्रेसको फरक विचार समूह कोइराला समूहसँग नजिक छन् ।
योजना आयोगमा काँग्रेसका तप एक जना सदस्य नियुत्ती गर्ने र बाँकी गठबन्धन दलबाट नियुत्ती गर्ने समेत सहमति भएको छ ।
सहमतिमा पुग्न अघि मुख्यमन्त्री कार्कीले काँग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादीका आङ्बो, नेकपा एसका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बिहीबार पनि छलफल गरेका थिए ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले छठपछाडि सबै कुरा टुङ्गो लाग्ने बताए । उनले नेपाल प्रेससँग भने अहिले प्रारम्भिक छलफल भएको हो । छलफललाई अन्तिम रूप दिन अझै बाँकी नै छ ।
उनका अनुसार कोशी प्रदेशका सत्ता गठबन्धन दलहरूबिच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाको छलफलले छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति गरेको आङ्वोले बताए ।
कोशी प्रदेशमा मङ्सिर १६ गतेसम्ममा बजेट अध्यादेश प्रतिस्थापन विधेयक ल्याइसक्नु पर्ने छ । बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा साझा कार्यक्रम ल्याउने समेत सहमति भएको छ ।
छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति गरेको छ ।
काङ्ग्रेसलाई मुख्यमन्त्री सहित ४ माओवादीलाई ३
कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरिको प्रारम्भिक छलफल भएको छ ।
माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले निर्णय गरे पनि प्रदेश सभा सदस्य निर्मला सुब्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।
कोशी प्रदेशमा अहिले मुख्यमन्त्री सहित काङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् ।
दलहरूका बिचमा सहमति नजुट्दा उनीहरूले समेत मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । उनीहरूको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।

















