विराटनगर । विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो । 
सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको अबस्थाको बारेमा जानकारी लिन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला  चिकित्सक र स्वास्थ्यकर्मीसहित पुगेका थिए ।  सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए ।
गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउन समेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् । लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो । बिरामीका श्रीमान् रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन् । बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए । सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र चिकित्सकको टोली लिएर सोमबार बिहानै सहनीको घर पुगेको थियो । 

सहनीको उपचारमा कुनै कमी हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत व्यक्त गरे ।  खाद्यान्नसमेत समस्या देखिएपछि सहनी परिवारलाई खानको समेत व्यवस्था गर्ने उनले बताए । बिरामीलाई स्पाइनल कर्ड इन्जुरीको समस्या रहेको र यसप्रकारको बिरामीलाई राज्यका तर्फबाट उपचारका लागि १ लाख र मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसारको सुविधाहरु उपलब्ध गराइने स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए ।  मेयरको निर्देशनपछि महानगरको एम्बुलेन्समा राखेर बिरामी सहनीलाई कोशी अस्पताल पु¥याइएको छ । अहिले त्यहीँ भर्ना गरेर उपचार शुरु भएको हो ।