विराटनगर।   विराटनगरका व्यापारीहरूले चाडबाडमा पनि मन  खोलेर व्यवसाय गर्न नसकेको बताएका छन् । उनीहरूले  अहिले सबैभन्दा कठिन अवस्था  रहेको बताएका हुन् ।  मोरङ व्यापार सङ्घले विजया दशमी, शुभ दीपावली,  नेपाल सम्वत ११४४ एवम् छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यवसायीले बजारमा सुधारको अपेक्षा गरिएको भए पनि अझै अनुभूति गर्न नसकिएको बताए । 
सङ्घका अध्यक्ष नवीन रिजालले राज्य व्यवसायीको कुरा सुनिदिनु पर्ने बताए । सबै क्षेत्र अस्तव्यस्त भएको बेलामा पनि सरकार निरीह भएर बस्न नुहुनेमा जोड दिए  । व्यवसायीहरू लामो समयदेखि आफ्ना समस्याको बारेमा सरकारलाई ध्यानाकर्षण गराउँदै  बैङ्क ब्याजदरदेखि कि थुन कि सुन भन्ने बारेमा आन्दोलनमा रहेको रिजालले जानकारी दिए । 
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले सुधारको आशा धेरै गरिएको भए पनि अनुभूति गर्न नसकिएको बताए । सजिलो अप्ठ्यारो परेको बेलामा व्यवसायीले सहयोग गर्दै आएको भए पनि सरकारले व्यवसायीलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्नु पर्ने बताए । सुरानाले दशैपछि आर्थिक विकासले गति लिनु पर्ने बताए । सङ्घका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले  अहिले व्यापार गर्ने अवस्था नै बिग्रिएको बताए । ‘यस्तो शुभकामना आदान प्रदान गर्ने बेलामा पनि हामीले हाम्रो गुनासो सुनाउनु परेको छ, उनले भने, हामीले पटक पटक सरकारलाई ध्यानाकर्षण गराई सकेका छौँ, आजको कार्यक्रमबाट पनि प्रदेश प्रमुख र माननीय ज्यूहरूले हाम्रो कुरालाई सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनु होला ।’ 
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले आपसी सद्भाव कायम गरेर चाडपर्व मनाउन आग्रह गरे । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, सङ्घीय संसद् सार्वजनिक लेखा समितिका सभापति ऋषि केश पोखरेल, प्रदेश सांसद अमनलाल मोदी, कोशी प्रदेश सभा सस्यहरू भक्तिप्रसाद सिटौला, गयानन्द मण्डल, अमृत अर्याल लगायत, प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।