विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत सङ्घहरूको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम थालनी गरेको छ ।  महासङ्घले बिहीबारदेखि विराटनगरमा दुई दिने कार्यशाला मार्फत सङ्घहरूका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरूलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम अघि बढाएको हो ।
महासङ्घका अध्यक्ष राजेन्द्र राउतले बिषम् परिस्थितिका कारण हुन नसकेको नगर, जिल्ला र वस्तुगत सङ्घहरूसँगको सम्बन्धलाई आगामी दिनमा सुमधुर बनाउँदै लैजान र सङ्घका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व क्षमता विकास गर्न कार्यशाला महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।  कार्यशालाबाट सङ्घको सचिवालयको कार्यक्षेत्र अझ बलियो हुने र महासङ्घको मर्म अनुसार सङ्घहरू अघि बढ्न मद्दत पुग्ने उनले बताए । 
नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य अविनाश बोहराले सदस्य संस्थाको नेतृत्व विकासका लागि दुई दिने कार्यशाला महत्त्वपूर्ण हुने बताए ।
नेपाल सहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) र द एसिया फाउन्डेसनको सहयोगमा आयोजित कार्यशालामा बोल्दै नियर्सका अध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले आर्थिक क्षेत्रका महत्त्वपूर्ण पक्षहरुको संस्थागत विकासका लागि कार्यशाला महत्त्वपूर्ण अवसर भएको बताए ।  उद्योग तथा व्यापार क्षेत्रको सहजीकरणमा समेत छलफलका माध्यमबाट स्पष्ट हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे  ।fncci (2)
कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै नियर्सका सदस्य ओम धरानन्द राजोपाध्यायले महासङ्घका विभिन्न फोरमहरूबाट सदस्य संस्थाहरूको क्षमता विकासको आवश्यकता रहेको कुरा औँल्याइएकोले सहकार्य गरेर कार्यशाला आयोजना गरिएको जानकारी गराए ।

कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घ मध्ये ३६ वटा सङ्घका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिव एवम् विभिन्न वस्तुगत सङ्घका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको छ । सहभागीहरूले महासङ्घका सदस्यहरूको सङ्ख्या घट्दै गएको र उद्योगी व्यापारी क्षेत्रमा निसारा बढ्दै गएकोको बेलामा यस्ता कार्यशालाहरूले उत्प्रेरित बनाउन मद्दत पुग्ने अपेक्षा लिएको बताएका छन् ।