विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यबाहक मेयर कार्कीले जानकारी दिईन् ।

दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ । त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने अलीको भनाई छ। 

विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरे बमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्र लगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।