इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरणमा कडाइ सुरु गरिएको छ  । बजार अनुगमन गर्दै  विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारबाही गर्न थालेको छ । अनुगमनका क्रममा विद्यालय वरिपरि बिक्रीको लागि राखिएको सुर्तीजन्य पदार्थ उपमहानगरको अनुगमन टोलीले जफत गरेको छ । 
विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले अनुगमन गर्दै कडाइ सुरु गरेको जनाएको छ ।  विद्यालय वरपर रहेका पसलहरूमा सुर्तीजन्य पदार्थ भए नभएका बारेमा उपमहानगरपालिकाका कर्मचारीले निरन्तर अनुगमन गर्ने उप महानगरले जनाएको छ ।
विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न  उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ।
उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी दायरामा ल्याइने नगर प्रमुख हेम कर्ण पौडेलले बताए। 
विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ।