मेचीनगर ।  गत आर्थिक वर्ष २०७९-०८० मा काँकडभिट्टा स्वास्थ्य चौकी प्रथम भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत नगरभित्रका कुल १५ वटा स्वास्थ्य केन्द्रहरू मध्ये काँकडभिट्टा प्रथम भएको हो ।
मेचीनगर नगरक्षेत्र भित्र बाहुन डाँगी, काँकडभिट्टा, धाईकन, दुहा गढी र ज्यामिरगढी गरी कुल पाँच वटा स्वास्थ्य चौकी छन् । चार वटालाई पछि पार्दै काँकडभिट्टा प्रथम भएको उपप्रमुख मिना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ ।
मेचीनगरभित्र नगरपालिकाभित्र मेचीनगर —१० धुलावारीमा प्राथमिक स्वास्थ्य केन्द्र एउटा, पाँच वटा स्वास्थ्य चौकी र नौ वटा आधारभूत स्वास्थ्य चौकी गरी कुल १५ वटा स्वास्थ्य केन्द्र छन् । यी स्वास्थ्य केन्द्रबाट झन्डै ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिने गरेका छन् ।  
यसै गरी कुल नौ वटा आधारभूत  स्वास्थ्य चौकीहरूमध्ये  आधारभूत स्वास्थ्य चौकी मेचीनगर—८ रेन्किङमा पर्न सफल भएको छ । नगरभित्र वडा नम्बर १,२,३,५,७,८,९, १२, १३ मा आधारभूत स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् ।  स्वास्थ्य कार्यक्रमहरूको मुख्य सूचक स्वास्थ्य संस्थाको न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा काँकडभिट्टा प्रथम र आधारभूत स्वास्थ्य चौकी मेचीनगर—८ रेन्किङमा पर्न सफल भएको नगर स्तरीय स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् । 
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आम नागरिकले निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताए । नेपालको संविधान २०७२ को धारा ३५ मा उल्लेख भए बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार रहेकोले  सबैलाई स्वास्थ्यको पहुँचमा पु¥याउन स्थानीय सरकार लागि परेको बताए । 

उपप्रमुख मिना पोखरेल उप्रेतीले स्वास्थ्य, शिक्षालाई नागरिकको नैसर्गिक अधिकारका रूपमा संविधानमा उल्लेख गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्नेतर्फ सरकार गम्भीर भएर  लागेको बताइन् । संविधानमा नागरिकको स्वास्थ्य सेवाका विषयमा उल्लेख गरिनुले आम नागरिकमा विश्वास लाग्नु स्वाभाविक नै भएको बताउँदै उपप्रमुख उप्रेतीले संविधानमा व्यवस्था गरिएका सेवा–सुविधाहरू के–कसरी पूरा गर्न सकिन्छ ? त्यतातर्फ नगरको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।