झापा ।  झापाको मेचीनगरमा बिना धितो सहुलियत ब्याजदरमा महिला उद्यमशीलताको लागि सहुलियत कर्जा हस्तान्तरण गरिएको छ । मेचीनगरका उद्योगी व्यवसायीहरूको साझा संस्था मेची उद्योग वाणिज्य सङ्घले मेचीनगरमा क्रियाशील ६ वटा विभिन्न सङ्घ संस्थालाई १० लाख २० हजार रुपैयाँ सहुलियत कर्जा प्रदान गरेको हो । 
बुधवार आयोजित उद्यमशीलताको लागि सहुलियत कर्जा हस्तान्तरण कार्यक्रममा सङ्घले विभिन्न  ६ शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण प्रदान गरेको हो । सङ्घले व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाई बुनाई कर्जा उपलब्ध गराएको सङ्घका अध्यक्ष खेमराज प्रसाईँले जानकारी दिए ।  mahila udhyamshil (2)
मेचीनगरका वडा नम्बर ६, ८ र ९ का महिलाले सञ्चालन गरेका सङ्घ संस्थालाई जनही १ लाख ७० हजार रुपैयाँ कर्जा प्रदान गरेको अध्यक्ष प्रसाईँले जानकारी दिए ।  त्यस्तो कर्जाको अवधि  दुई वर्षको हुनेछ । महिला उद्यमशीलता कर्जाका लागि  ५ प्रतिशत ब्याज दिएको छ । एक कार्यक्रमका बिच कर्जा रकम बराबरको चेकसहित दुवै पक्षबीच भएको सम्झौता पत्र प्रदान गरिएको छ । 
पशुपालनतर्फ तारा पुञ्ज छोरी बुहारी सशक्तीकरण मेचीनगर— ९  अध्यक्ष सीता पोखरेल लाई बाख्रा तथा कुखुरा पालन, सञ्जीवनी महिला विकास संस्था मेचीनगर—९ अध्यक्ष रेणुका डाँगीलाई सिलाई कटाई, श्री नारी कल्याणकारी विकास संस्था मेचीनगर —९  अध्यक्ष जानुका ओली पशुपालन तथा विविध व्यवसाय, समाज सुधार महिला समूह मेचीनगर — ९ अध्यक्ष संगीता थापा सिलाई बुनाई , संयुक्त युवा सङ्घ मेचीनगर —८ अध्यक्ष अग्निमय मेचे तरकारी खेती तथा महिला जनचेतना केन्द्र मेचीनगर—६ सीता गुरुङ पशुपालनका लागि कर्जा वितरण गरिएको हो  ।
सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेर सङ्घले १ लाख ७० हजार रुपैयाँसम्मको कर्जाको लागि विस्तृत परियोजना प्रस्ताव माग गरेपछि मागका आधारमा कर्जा उपलब्ध गराएको सङ्घका कार्यकारी निर्देशक गोपाल बस्नेतको भनाई छ । सङ्घका सचिव कमलप्रसाद कोइरालाका अनुसार कर्जा मागका लागि निक्कै प्रस्ताव प्राप्त भए पनि यो पटक ६ वटा महिला आवद्घ सङ्घ संस्थालाई कर्जा प्रदान गरिएको हो ।
सङ्घका अध्यक्ष खेमराज प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य बजगाईँ, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् सङ्घका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, संयुक्त युवा सङ्घकी अध्यक्ष अग्निमय मेचेलगायतले धारणा राखेका थिए ।  महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीले स्वागत गरेकी थिइन् ।