लक्ष्मी उप्रेती
झापा । झापाको मेचीनगरका सामुदायिक विद्यालयहरूमा ‘दिवा खाजा कार्यक्रम’ ले विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन् । विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँच बाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय प्रति आकर्षण गर्ने, कक्षा बिचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्य सहित सरकारले खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। 
मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थीको सङ्ख्या सामुदायिक विद्यालयमा बढेको शिक्षा शाखाले जनाएको छ।  मेचीनगरका हरेक सामुदायिक विद्यालयमा ‘दिवा खाजा कार्यक्रम’ प्रभावकारी बन्दै गएको नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारीले बताए ।
सरकारले आर्थिक वर्ष २०७९/०८० सम्म प्रारम्भिक बाल विकास देखि ६ कक्षासम्मका विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ देखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई मात्र दिवा खाजाको व्यवस्था गरेको छ । 
‘प्रारम्भिक बाल विकास कक्षादेखि  ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालिएको थियो चालु आर्थिक वर्षदेखि प्रारम्भिक बाल विकास कक्षादेखि  ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने सरकारले व्यवस्था गरिएको भण्डारीले बताए । मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि  ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ५ हजार ७ सय ३१ रहेको छ । 
नगरको सामाजिक विकास समितिले बेला बेला हरेक विद्यालयमा पुगेर खाजाको गुणस्तरका बारेमा छड्के अनुगमन गर्ने गरेको समितिका संयोजक हृदय राजवंशीले बताए । 
विद्यार्थी सङ्ख्याको आधारमा विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको धुलाबारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईँको भनाइ छ ।
उनका अनुसार विद्यालय नियमित आउने सङ्ख्या बढेको छ भनेँ बिचमै विद्यालय छाड्ने विद्यार्थीहरूको सङ्ख्या घटेको छ ।  ५ सय ५० जना विद्यार्थी धुलाबारी माविको प्रारम्भिक बाल विकास देखि ५ कक्षासम्म अध्ययन गर्दछन् । पौष्टिक आहार र स्थानीय परिकार हरेक विद्यार्थीहरूको प्राथमिकता परेको छ ।
कवि शिरोमणि माध्यमिक विद्यालयमा दिवा खाजाकै कारण विद्यार्थीहरूमा शैक्षिक सुधार सन्तोषजनक पाइएको छ । यसले विद्यालय छाड्नेको सङ्ख्या हरेक वर्ष कम हुदैं गएको, नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको, विद्यालय भर्ना दरमा वृद्धि लगायतका सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर ढुङ्गेलको भनाई छ ।
सहायक प्रधानाध्यापक ढुङ्गेलका अनुसार कविशिरोमणि माविको खाजा घरमा हरेक दिन फरक–फरक परिकारहरु पाक्ने गर्छन् । विद्यालयमा दिवा खाजा पाक्न थालेपछि विद्यार्थीहरू नियमित उपस्थित हुनुका साथै बिचमै कक्षा छाड्ने समस्या पनि हटेको उनको भनाई  छ । विद्यालयको पहुँच बाहिर रहेका र बिचमै कक्षा छाडेर जाने विद्यार्थी पनि ‘दिवा खाजा कार्यक्रम’ का कारण पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ । अधिकांश चिया, कृषि मजदुरका छोराछोरी अध्ययनरत मेचीनगर— १४ को बालसुबोधिनी माविमा ३ सयले जनाले दिवा खाजा खाने गरेका छन् । प्रधानाध्यापक विश्व थापाका अनुसार उनीहरूलाई दैनिक रुपमा फरक फरक खाजाको व्यवस्था गरिएको छ । 
थोरै रकमबाट पनि सही व्यवस्थापनको प्रयास खाजा कार्यक्रमबाट भएको काँकडभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताए । 
सरकारले सामुदायिक विद्यालयमा प्रति दिन १५ रुपैयाँका दरले एक विद्यार्थीलाई बढीमा १ सय ८० दिनका लागि खाजा रकम उपलब्ध गराउँछ । मेचीनगर शिक्षा शाखा प्रमुख एवम् नगर शिक्षा अधिकारी भण्डारीका अनुसार सम्बन्धित कक्षा शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले गरेको रुजु हाजिरका आधारमा सरकारले रकम निकासा गर्दछ । ‘रुजु हाजिरका आधारमा सरकारले रकम दिने गरेको छ, उनले भने, खाजा कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई विद्यालयप्रति आकर्षण  गर्नुका साथै कम्तीमा प्राथमिक तहको शिक्षा पूरा गर्न प्रेरित गर्ने विश्वास छ ।’
सबै विद्यार्थीहरूले एकै ठाउँमा बसेर एकै प्रकार र परिकार खान पाउने भएकाले सामाजिक र सामूहिक भावना विकास हुने गरेको छ । 

मेचीनगरका हरेक विद्यालयमा साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउने गरिएको छ । नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख भण्डारीले बताए ।