इटहरी । इटहरी उपमहानगरपालिकाले सोमबारदेखि  निःशुल्क एम्बुलेन्स र शव वाहन  सुरु गरेको छ ।  इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भित्र   सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। 
इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको नगर प्रमुख हेम कर्ण पौडेलले जानकारी दिए ।  नगर भित्र घर देखि घाटसम्म शव वाहन र घर देखि इटहरी अस्पतालसम्म निःशुल्क  संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ । 
‘एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने मेरो योजना थियो, उनले भने, मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान विराटनगर जानु नपरोस् भन्ने हो ।’ स्थानीय श्रोत साधनलाई प्रभावकारी बनाउने काममा उपमहानगरपालिका लागेको पौडेलले बताए । पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव भएको कारण देखाउँदै इटहरी उपमहानगरपालिकाले शवबहान र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।