इटहरी । कर वृद्धिको विरोध गर्दै नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । 
चरणबद्ध आन्दोलन घोषणा गरेको नागरिक समाज इटहरीले आज उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजले माग गरेको छ । 
मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए । 
आर्थिक ऐन २०८० मार्फत इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको, आम नगरवासीलाई त्यसले समस्यामा पारेको भन्दै नागरिक समाजले आन्दोलन सुरु गरेको हो । 
वृद्धि भएको कर घटाउन पटक पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै समाधान ननिस्किएपछि आन्दोलनमा उत्रनु परेको नागरिक समाजले जनाएको छ । 
चरणबद्ध आन्दोलन घोषणा गरेको समाजले  यसअघि एसएमएस पठाउने,सामाजिक सञ्जाल मार्फत कर घटाउन आग्रह गरेको नागरिक समाजले आज उपमहानगरपालिका अगाडी मौन धर्ना दिएको नागरिक समाज इटहरीका अध्यक्ष बालिका भट्टराईले जानकारी दिइन् । 
समाजले शनिवार इटहरीमा सर्वपक्षीय भेला राखेको छ भने २५ बजे नागरिक भेलाको आयोजना गर्दै छ । कर समायोजन नभए नो ट्याक्स सम्मका अभियान सञ्चालन गर्ने जनाएको छ । सो सम्बन्धमा सर्वपक्षीय भेलाले सुझाव दिने र सोहीअनुसार अघि बढ्ने समाजकी अध्यक्ष बालिका भट्टरार्ईले जानकारी दिइन् ।