लक्ष्मी उप्रेती
झापा । झापा मेचीनगर —७ की ५० वर्षीय  कर्मी  मुन्डा करुवाका बाबु असारु मुन्डा चिया बगानमा काम गर्दागर्दै बिते । आमाको समेत सोही चिया बगानमा मजदुरी गर्दागर्दै निधन भयो ।  हजुरबुवाले बाचुन्जेलसम्म चिया मजदुर कै रूपमा बिताए । उनकै बाबुले बगान बसाएका थिए । बगानमा ६० वर्षसम्म सरदारी काम गर्दागर्दै उनी बिते । आज कर्मीको सिङ्गो परिवार त्यही चिया बगानमा आफ्नो भाग्य र भविष्य खोजी रहेको छ, जहाँ हिजो आफ्नो दुई पुस्ताले भाग्य र भविष्य खोज्दै गर्दा बितेर गए ।
हजुरबुवा, बाबुआमाले गर्दै आएको चिया मजदुरको काम आज उनीसँगै उनका श्रीमान् राम करुवा, चार पुस्ताका छोरा सुरज करुवाले गर्दै आएका छन् । करुवा दम्पतीका छोरी मलिना बिहे गर्नुअघि समेत चियाका बुट्टाहरूसँग कहिले चिया टिप्दै त कहिले चिया गोडमेल गर्ने काम गर्थिन । उनीहरू चार पुस्ता चिया बगानमा मजदुरका रूपमा काम गर्दै आएका छन् । 
बगानका अधिकांश मजदुरका सन्तान यो चिया बगान छाडेर अन्यत्र मजदुरी गर्न गएका छैनन् । दर्जनौँ मजदुरका तीन चार पुस्ता यहाँ काम गरिरहेका छन् । दुई दशकअघिदेखि तेस्रो चौथो पुस्ता बगानमा मजदुरी गरिरहेका छन् ।  
 ५३ वर्षीय मुन्की करुवाका बाबु निताई करुवाको बगानमै भविष्य खोज्दा खोज्दै जीवन समाप्त भयो । आमा मातुली करुवाको उमेर समेत चिया बगानमै मजदुर गर्दा गर्दै बित्यो । अहिले उनको सिङ्गो परिवार मजदुरी मै रमाई रहेको छ । उनीहरूको भन्दा अलि फरक छ, सोही ठाउँका ४७ वर्षका राजन करुवा र लक्ष्मण करुवाको दैनिकी । दुवैले बाबुबाजेको मजदुरी पेसालाई अङ्गाले पनि आफ्नो चौथो पुस्ताका सन्तानलाई भने बेलैमा विदेश पठाए । सन्तानको राम्रो कमाई भएका कारण आफूहरूमा सन्तुष्ट मिलेको अनुभव उनी सुनाउँछन् ।
राजन आफ्नो परिवारका तीन पुस्ताका चिया मजदुर हुन् । हजुरबुबा मद करुवाले गर्दै आएको काम बाबु सञ्चरुवा करुवाले सर्लक समाए । बाबुसँगै आमा बैजयन्ती करुवा पनि चिया मजदुरका रूपमा बगानमा भर्ना भइन् । हजुरबाबु र बाबुको निधन भइसकेको छ भने राजन की आमा उमेरका कारण मजदुरी पेसाबाट अहिले अवकाश भएकी छन् । त्यही कामलाई अहिले राजन र उनकी श्रीमती सुशीलाले निरन्तरता दिर्दै आएका छन् । तर, दुई सन्तान मध्ये छोरा कतार र छोरी दुबईमा छन् । लक्ष्मणका तीन सन्तानमध्ये दुई जना विदेश र एक जना साथमै छन् । झापाको सतिघट्टा चिया बगानमा अभिभावकसँगै पढ्ने उमेरका बालबालिका पनि मजदुरका रूपमा काम गर्छन् ।tea
‘पुस्तौँदेखि मजदुरी गरे, थातथलो केही जोड्न सकिन,’ कर्मीले भनिन्,’ आर्थिक अवस्था कमजोर हुँदा स्कुल जाने छोरा छोरी पनि काम गर्न आउँछन् ।’ उनका छोरा सुरज र छोरी मेलिनाले १० कक्षासम्म त पढे । तर, त्यो भन्दा माथि उच्च शिक्षा पढाउन उनको परिवारले नसक्ने भएपछि दुवैले हरेक दिन बिहान चिया बगानमा पत्ती टिप्ने, खन्ने, चिया गोडमेल गर्नुको विकल्प थिएन । र, मजदुरी बाटो रोजे । दिनहुँ चिया बगानमा पत्ती नटिपे वा बगानमा काम गर्न नआए साँझ चुलो पनि नबल्ने मुन्की करुवा बताउँछिन् ।
उनका पनि एक छोरा र एक छोरी छन् । छोराछोरीले पढ्न पाएका छैनन् । उनको पनि कम दुःख छैन । अहिले छोरा छोरी नै चिया बगानमा मजदुरका रुपमा काम गर्छन् । छोरीको भने बिहे भइसकेको छ । ‘पुस्तौँ मजदुरीमै बित्यो, कहिले सुख पाइन,’ उनले भनिन् । मजदुरीबाट कमाएको रुपैयाँ घर व्यवहार चलाउनमै खर्च हुने गरेको उनले सुनाइन् त्यही भएर पढाई छाडेर छोरा छोरीलाई समेत आफूसँगै मजदुरीमै ल्याएको सुनाउँछिन् । जति नै दुःख गरे पनि यी मजदुरहरूले सुखको श्वास फेर्न कहिल्यै नपाएको गुनासो गरेका छन् । बगानले दिएको थोरै जग्गामा सानो कटेरो बनाएर बढो दुःख कष्ट गरेर बस्नु परेको पीडा उनीहरूको छ ।
‘दिनभरि काम गरेर थाकेको शरीरलाई राम्ररी आराम दिन सकिँदैन ’मुन्कीले भनिन्‘आकाशबाट खसेको पानीलाई छानोले रोक्न सक्दैनन्, रातभरि भाडा थापेर रात कटाउनु पर्छ । छानोले न घाम छेक्छ न पानी,  यस्तै छ नि हामी मजदुरको जिन्दगानी ।’ 
नेपाल स्वतन्त्र चिया मजदुर युनियनका पूर्व केन्द्रीय सदस्य रामचन्द्र अधिकारीका अनुसार सतिघट्टा चिया बगानमा करिब डेढदेखि दुई सय मजदुर छन् । उनीहरू तीन चार पुस्तादेखि मजदुरी गर्दै आएका छन् । तर, पनि सबैको जीवनस्तर खासै माथि उठ्न सकेको छैन । ‘हजुरबाबुले पनि यसै गरी, बाबुआमाले पनि त्यही काम गरे, हामीले पनि यसैलाई निरन्तरता दिनुपर्छ भन्ने सोचका कारण पनि आज पुस्तौँ पुस्तादेखि चिया मजदुरमै छन्’ –अधिकारीले भने । केही परिवारका चार पुस्ताले समेत मजदुरी गरेको अभिलेख भेट्न सकिने अधिकारीको भनाई छ ।  एकै परिवारका चार जनासम्म अहिले बगानमा मजदुरी गर्दै आएका छन्, ।
एक रुपैयाँको ज्याला
राजनका हजुरबुवाले काम गर्दा उनको ज्याला १ रुपैयाँ ५० पैसा थियो । तेस्रो पुस्ताको रुपमा १७ वर्षको उमेरदेखि चिया बगानमा मजदुरी गर्दै आएका राजनको जीवनमा पनि खासै परिवर्तन आउन नसकेको पीडा उनी सुनाउँछन् । उनको सुरुका ज्याला १० रुपैयाँ थियो । ‘घरको आर्थिक अवस्था कमजोर थियो, खान लगाउन नै धौ–धौ, थियो । पढ्न सकिएन । अनि बाबु बाजेले जे काम गरे त्यसैलाई निरन्तरता दिन थालियो ’ उनले भने ।
 ‘अहिले पो दैनिक ४ सय ३५ रुपैयाँ ज्याला भयो । सुरुमा त थिएन । मैले २ रुपैयाँ ५० पैसा हाजिरा हुँदादेखि काम गरेको हुँ । अहिले ४ सय ३५ भए पनि काम भएको दिनको मात्र हाजिरा पाइन्छ । घर चलाउन निक्कै समस्या भएको. छ । ’ यो चिया बगान यहाँका मजदुरका सन्तानका लागि लागि वैदेशिक रोजगारी मुलुक झैं भएको राजनले बताए । बगानमा काम गरेर कर्मी परिवारका सबैको गरेर सातामा  सात हजार पाँच सय रुपैयाँ आउँछ । यो कमाइले घर खर्च राम्रो चलेको भए पनि भने जस्तो घर बनाउन नसकेको भनाई छ । चिया बगानमा कार्यरत मजदुरलाई आर्थिक रूपमा जीवन चलाउन समस्या भएको छ ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बिउ उपहारमा ल्याएका थिए । त्यसयता ब्रिटिस सरकारको इष्ट इन्डिया कम्पनीमार्फत दार्जिलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो । दार्जिलिङको चियाको खेती हेरेर नेपालको पहाडी क्षेत्र सर्वप्रथम इलाममा चिया रोपण गरिएको थियो । त्यसपछि पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती गर्न सुरु गरेको तथ्याङ्क  छ ।
इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चिया खेती हुँदै आएको छ । झापामा एक हजार ६ सय भन्दा बढी चिया बगान रहेका छन् ।