झापा । बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन उत्तिकै आत्मसम्मान पनि छ ।  कपडा तथा रेग्जिनका ब्याग झोला बनाउने आधारभूत तालिम एक महिने र ‘एडभान्स’ तालिम १५ दिने लिए पछि अहिले धिमालले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी ब्याग झोला लघु उद्यम ’ नै सञ्चालन गरेकी छिन् । जहाँ कपडा तथा रेग्जिनका ब्याग झोला तयार गरिन्छ । यो उद्योग सञ्चालनमा ल्याएदेखि उनी आत्मनिर्भर मात्र होइन आत्मसम्मान पनि बढेको बताउँछिन् । धिमाल त एक उदाहरणीय पात्र मात्रै हो । नगरपालिकाले सञ्चालन गरेको विभिन्न सिप मूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजगारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेका छन् ।
आफै उद्यम सञ्चालन गर्ने सोचका साथ धिमालले घरदेखि थोरै पर लिजा एण्ड एमी कपडा तथा रेग्जिनका ब्याग झोला बनाउने सिलाई कटाई पसलको स्थापना गरेकी छिन् । वार्षिक दश हजार रुपैयाँ घर भाडा तिर्छिन्  । ४५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले करिब ८० हजार रुपैयाँमा पुगेको छ । सिप मूलक तालिम पछि आफ्नै खुट्टामा उभिन सफल भएको उनी बताउँछिन्  ।  
एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाई कटाई तालिम अवधिमा गरेको मेहनतले लक्ष्मीलाई उत्कृष्ट प्रशिक्षक र सक्षम व्यवसायी बनाएको छ । उनी अहिले ५जनालाई प्रशिक्षार्थीलाई कपडा तथा रेग्जिनका ब्याग झोला बनाउने सिप सिकाउँदै आएको बताउँछिन्  
 यो लगनशीलताले सीपमा आएको निखारसँगै अहिले स्थानीय तहमा बढ्दै गरेको जनघनत्व चाहिँ लक्ष्मीको कमाइको राम्रो श्रोत बनेको उनको बुझाई छ । 
मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई, प्लास्टिकको झोला बनाउने, मकैको खोसेलाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने जस्ता तालिम मात्र नगरका वर्षेनी एकसय भन्दा बढी महिलाले लिने गरेका छन् ।
जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । महिलालाई आत्मनिर्भर तथा महिला सशक्तीकरण गर्न  बेलाबखत तालिम  सञ्चालन गर्ने गरेको उपप्रमुख उप्रेतीको भनाई  छ । 
महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरूलाई स्वरोजगार बन्ने बाटो समेत खुल्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । 

नगरपालिकाले एकल महिला, दलित, पिछडिएको वर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सिप मूलक तालिम दिने गरेको छ । विभिन्न प्रकारका सिप मूलक तालिम दिएर नगरभित्रका किशोरीहरूलाई आत्मनिर्भरको बाटोमा हिँडाएको नगरपालिकाको दाबी छ । सिलाई कटाई तालिमबाट विशेष गरी महिलाहरू बढी लाभान्वित भएका छन् ।