विराटनगर  । विगत डेढ वर्ष देखि व्यावसायिक रूपमा अर्ग्यानिक घर सञ्चालन गरिरहेका मोरङ बेलबारीका अभिषेक गौतमले शाखा विस्तार गरेका छन् । उनले विराटनगरको जहदा रोड रेन्बो गल्लीमा अर्ग्यानिक घर सञ्चालन गर्दै आएका थिए । 
उनले सहरी क्षेत्रका बजारमा सहजै पाउन नसकिने कृषि उत्पादनलाई उपभोक्ता माझ पुर्‍याउने उद्देश्यले व्यवसाय यात्रा आरम्भ गरेका हुन् । नेपालका विभिन्न जिल्लाबाट खाद्यान्न सामग्री आयात गरेर विक्री वितरण गर्दै आइरहेका छन् ।
गौतमले कोशी प्रदेशका विभिन्न जिल्ला सङ्खुवासभाको जडीबुटी, सक्खर, सोलुखुम्बु, इलामको ग्रिन टी, धनकुटाको घ्यू, खोटाङको राजमा, मुस्ताङ, जुम्ला, कास्कीको चामल, दाल, कोदो फापर विराटनगरका उपभोक्तामाझ पुर्‍याई रहेको  बताए । विराटनगरका ग्राहकको अर्ग्यानिक सामान प्रतिको आकर्षण र मागका कारण गौतमले पहिलो शाखाको रूपमा बरगाछी पश्चिम लाइफ गार्ड हस्पिटल नजिकै अर्ग्यानिक घर सञ्चालनमा ल्याएका हुन । 
उनले बिहीबार विधिवत् रूपमा शाखा सञ्चालन गरेका छन् । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले शाखाको उद्घाटन गरेकी हुन । कार्कीले पढेलेखेका युवाहरू विदेश पलायन भइरहेको अवस्थामा आफ्नै ठाउँमा रहेर व्यवसाय गर्नु सकारात्मक रहेको बताइन । अन्य युवालाई पनि आवश्यकतालाई चिनेर काम गर्न सके आफ्नै ठाउँमा बसेर काम गर्न सकिन्छ भन्ने प्रेरणा मिल्नेमा कार्कीले विश्वास व्यक्त गरिन । 
अर्ग्यानिक घरको आफू नियमित ग्राहक पनि भएको बताउँदै उपमेयर कार्कीले अर्ग्यानिक खाद्यान्न सामाग्री तथा फलफूलको स्वाद नै फरक हुने बताइन । स्वास्थ्यको हिसाबले पनि राम्रो हुने उनको भनाई थियो ।  
ग्रामीण भेगमा उत्पादन हुने अर्ग्यानिक खाद्यान्नलाई प्रवर्धन गरौँ भन्ने उद्देश्यले अर्ग्यानिक घर सञ्चालन गरेको गौतमले बताए । विभिन्न पहाडी जिल्ला र नेपालको सुदूरपश्चिमका हिमाली जिल्लाबाट सिधै कृषकसम्म पुगेर सामान ल्याउने गरेको उनले जानकारी दिए ।

स्वास्थ्यका लागि पनि लाभदायक हुने भएकाले पनि यो व्यवसाय सुरु गरेको उनी सुनाउँछन् । बजारमा एक ठाउँमा मात्र सीमित नगर सबै सामु पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको उनले जानकारी दिए । उनले पसलमा एक जनालाई रोजगारी पनि दिएका छन् ।