लक्ष्मी उप्रेती
झापा । सशस्त्र द्वन्द्वका समयमा विस्थापित  झापाका  अधिकांश छोटी भन्सार कार्यालय अझै पुनः स्थापित हुन सकेका छैनन्  ।  छोटी भन्सार पुनः स्थापित हुन नसक्दा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन ।  भन्सार कार्यालयहरू उचित रेखदेख हुन नसक्दा झाडीमा परिणत भई  दुर्व्यसनीको आश्रय स्थल बन्न थालेको छ ।
सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा जिल्लाका अधिकांश छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको भन्सार अधिकारीहरूको भनाई छ । छिमेकी देश भारतसँग १ सय १८ किलोमिटर खुला सिमानामा जोडिएको झापा जिल्लामा झन्डै एक दर्जन छोटी भन्सार कार्यालय छन् ।
झापामा मेची भन्सार कार्यालय र भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएपछि भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको छ । अहिले झापामा दुई भन्सार कार्यालय सञ्चालनमा छन् । 
यसअघि यो कार्यालय मेची भन्सार कार्यालयको मातहतमा  छोटी भन्सार कार्यालयको रूपमा रहेको थियो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । 
 2 vansar
मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा बाहुन डाँगी, नकलबन्दा, सतिघट्टा र गौरीगञ्ज  छोटी भन्सार कार्यालय पर्दछन् । जिल्लाका ११ वटा छोटी भन्सार  कार्यालय मध्ये बाँकी भद्रपुर भन्सार कार्यालयको मातहतमा रहेका छन् ।  केचना, झापा, घेराबारी र पञ्चपाडा छोटी भन्सार भद्रपुर मतहतमा रहने गरी विभागले तोकेको छ । पछिल्लो समय सरकारले छोटी भन्सारलाई विस्थापित गर्ने नीति अघि सारेका करण पनि सशस्त्र द्वन्द्वका समयमा विस्थापित छोटी भन्सार कार्यालय पुनः स्थापित हुन सकेका छैनन्  ।  
अन्तर्राष्ट्रिय नीति अनुसार नेपाल भारतबिच सीमावर्ती क्षेत्रमा दुवै देशका भन्सार कार्यालय हुनुपर्दछ । एकलौटी पाराले कुनै पनि देशले भन्सार कार्यालय सञ्चालन गर्न नसकिने मान्यता रहेको भन्सार अधिकारीहरूको भनाई छ । नेपालतर्फको झापाको मेचीनगर—६ काँकडभिट्टामा मेची भन्सार कार्यालय तथा भारतको पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भारततर्फ पानीट्याँकीस्थित रानीगञ्ज नाका पर्दछ । उता भारतको विहार र बङ्गाल राज्यसँग भद्रपुर छोटी भन्सार कार्यालय जोडिएको  छ।

‘भारततर्फ भन्सार कार्यालय नभएका नाकामा नेपालले छोटी भन्सार कार्यालय स्थापन गरे पछि दुवै देशको संयुक्त बैठकमा नेपालले एकलौटी पाराले भन्सार कार्यालय स्थापना गरेको भन्दै भारतीय पक्षले कुरा उठाउँदै आएका थिए ’ प्रमुख भन्सार अधिकृत रेग्मीले भने,‘उनीहरूले भारततर्फ भन्सार नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढ्ने गरेको गुनासो गरेका थिए ।’ 
सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने उनको भनाई छ।  सीमापारि भन्सार कार्यालय सञ्चालन भएको भए नेपालतर्फका बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालन गर्न सकिन्थ्यो’ रेग्मी भन्छन्,  भारत तर्फ भन्सारको काम नहुने भएपछि झापाका अधिकांश छोटी भन्सार रहेको कार्यालय भवन प्रयोगविहीन छन् ।’ 4 vansar

 मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईँले आयात निर्यातलाई सहज गर्नकोलागि पनि छोटी भन्सार कार्यालयहरू सञ्चालन हुनु पर्ने बताए । छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा चोरी निकासी बढ्ने हुँदा त्यसलाई रोक्नकालागि पनि छोटी भन्सार प्रयोगमा ल्याउन उनले आग्रह गरे ।