लक्ष्मी उप्रेती 
मेचीनगर । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी (लकडाउन) लम्बिएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए । पछिल्लो समय कोभिड बिस्तारै नियन्त्रणमा आए पनि पूर्वका पर्यटन व्यवसायी  र पर्यटकीय स्थल पुरानै लयमा अझै पनि फर्किन सकेका छैनन् ।
नेपाल प्रवेशको सुदूर पूर्वकोद्वार काँकडभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बङ्गाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोस्ट’ रानीगञ्जले नेपाली  विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा (आगमन अनुमति) नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । 
कोभिडका कारण नेपाल तथा भारतीय पक्षले आवत जावतमा कडाइ गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको, निर्बाध रूपमा नेपाल घुम्न सक्ने अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए।  कोभिड महामारीका कारण नेपाल घुम्न लगाइएको रोक पछि कोभिड विरुद्धको खोप लगाएपछि खोप कार्डका आधारमा क्रमशः सहज भए पनि अहिले नेपाल सरकारले कोभिड विरुद्धको खोप खोप कार्ड अनिवार्य नगरेको कार्यालय प्रमुख भट्टराईको भनाई  छ ।  पूर्वी नाका हुँदै पैदल मार्ग भएर आउने पर्यटकलाई भारत तर्फबाट प्रवेशाज्ञा (आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको नेपाली पर्यटन व्यवसायीहरूको भनाई छ । 
यस विषयमा नेपाल तथा भारत तर्फका अधिकारीहरूको औपचारिक तथा अनौपचारिक रूपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यागमन कार्यालयले प्रवेशाज्ञा ‐आगमन अनुमति) नदिएको बताइएको छ । ‘कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका सम्पूर्ण नागरिकहरूलाई आउने र सबै भिसा दिन बन्द गरेको छ ’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले भने, कोभिडको असर क्रमशः नियन्त्रणमा आएर सहज बने पनि भारत तर्फको नाकालाई सहजताका लागि पहल भएको छैन ।’
नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर संस्थाले यो समस्याका बारेमा समेत जानकारी गराई सकेको छ।   प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा जोडदार छलफल भए पनि समस्याको समाधान हुन नसकेको बताइएको छ । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराइएको   श्रेष्ठले बताए ।   
पूर्वी नाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बङ्गलादेशी पर्यटकहरूको आवत जावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ । (ओसिआई) ओभरसिज सिटिजन अफ इन्डिया (प्रवासी भारतीय नागरिक कार्ड) भएकाहरू मात्र भारतीय भूमि भएर पैदल मार्ग हुँदै नेपाल आउने गरेका छन् । विदेशीले काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकामनालगायतका धार्मिक एवम् पर्यटकीय स्थल घुम्न मन पराउने  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव (नवराज)) नवीन खरेलको भनाई छ । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आउने गरेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईका अनुसार सन् २०२३ को जनवरी १ देखि २०२३ अगष्ट २२ तारीख वा मङ्गलवार सम्म काँकडभिट्टा भएर २१ वटा देशका ९ हजार ५ सय ६४ जना पर्यटकले अवातजावत गरेका छन् ।