विराटनगर । नेपाल एसोसिएसन अफ ट्राभल एजेन्टस् (नाटा) कोेशी प्रदेशको अध्यक्षमा विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई निर्विरोध निर्वाचित भएका छन् । शनिवार विराटनगरमा सम्पन्न ११ औ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।  नाटा कोशीको वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्षमा सचित तामाङ, महासचिवमा नवराज खरेल सर्वसम्मत भएका छन् । त्यस्तै सचिवमा जीवन पराजुली निर्वाचित हुँदा कोषाध्यक्षमा सुरेन्द्रप्रसाद पौडेल निर्वाचित भएको निर्वाचन समितिका सदस्य लक्ष्मी उप्रेतीले जानकारी दिए । त्यस्तै नव निर्वाचित समितिको सदस्यहरूमा धर्मराज सिवाकोटी, मनोरथ सिलवाल, गौरव श्रेष्ठ र लक्ष्मण खड्का रहेका छन् । नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यले आजैदेखि काम थालेको छ । समितिको बैठकले सल्लाहकार समिति समेत गठन गरेको नव निर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए । 
अधिवेशनको उद्घाटनमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारले तीन क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले हाइड्रो, पर्यटन र निजी क्षेत्रलाई सँगै लिएर जान सकिएन भने कोशी प्रदेशको  विकास सम्भव नहुने बताए । उनले सबै मिलेर कोशी प्रदेशलाई समृद्ध बनाउनु पनेमा जोड दिए । त्यस्तै कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण सचिव डा सञ्जीव राईले अहिले कोशी प्रदेश पर्यटनको सम्भावनै सम्भावना रहेको बताए । पर्यटन व्यवसायीसँग मिलेर काम भइरहेको अवस्थामा थप नयाँ कसरी गर्ने भन्ने विषय समन्वय गरेर जानु पर्नेमा जोड दिए । कार्यक्रममा सातै प्रदेशका नाटामा आबद्ध व्यवसायी सहभागी थिए ।