विराटनगर । बैङ्किङ सुरक्षाको बारेमा कोशी प्रदेश प्रहरी कार्यालयले वाणिज्य बैङ्कहरूसँग छलफल गरेको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले वाणिज्य बैकहरूसँग सुरक्षा सम्बन्धी प्रदेशस्तरीय छलफल गरेका हुन्  ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा  सम्पन्न छलफलमा नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, एन.एम.बि.बैक, ग्लोबल आई.एम.ई. बैक लगायत विराटनगरमा रहेका  सम्पूर्ण बैकहरूका प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा सहभागी बैङ्कका प्रमुखहरूले बैङ्किङ सुरक्षा सम्बन्धी विभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरू राखेका थिए ।  सहभागीहरूबाट उठेका जिज्ञासा तथा गुनासोहरूलाई सम्बोधन गर्दै  डिआइजी बास्तोलाले बैक तथा वित्तीय संस्थाहरूको सुरक्षामा नेपाल प्रहरी विशेष रूपमा चनाखो रहेको बताए । उनले आगामी दिनहरूमा समेत थप सुरक्षाका रणनीतिहरू अवलम्बन गरी बैङ्किङ क्षेत्रको सुरक्षामा पूर्ण प्रतिबद्ध रहेको बताए । छलफलमा बैङ्किङ कसुर, चोरी, ठगी, लगायतको विषय गम्भीर रूपमा उठेको बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।