विराटनगर ।  कोशी प्रदेश प्रदेशसभा सदस्यहरूलाई प्रदेश सभा सचिवालयले विद्युतीय ९ इन्डक्सन ०चुलो वितरण गरेपछि सामाजिक सञ्जालमा विरोध भएको छ । 
प्रदेश सभा सचिवालयका कर्मचारी र प्रदेश सभा सदस्यहरूले इन्डक्सन चुलो सचिवालयबाट बुझेर लगेपछि सामाजिक सञ्जालमा विरोध भएको हो । 
प्रदेश सभा सचिवालयले वितरण गरेको चुलो पूर्व मन्त्री तथा दलका नेताहरूले समेत लगेका छन् । 
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो तथा पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले समेत  सचिवालयबाट  चुलो बुझेर लगेका छन् ।  आङ्वोको नाममा रहेको चुलो भने स्वकीयले बुझेर लगेका हुन् ।
संसद् सचिवालयका अनुसार आङ्बो र भण्डारी सहित  २१ जना प्रदेश सांसदले इन्डक्सन चुलो लिएर गएका छन्  । 
केही सांसदले चुलो नबुझ्दै यसको तीव्र विरोध हुन थालेपछि अरू सांसदहरूले  लान छाडेका छन् । २ जनाले भने लिएको चुलो समेत फिर्ता गरेका छन् । 
चुलो बुझेर पछि फिर्ता गर्ने प्रदेश सभा सदस्यमा  काँग्रेसका इन्दिरा थापा र एमालेका लिलाबल्लव अधिकारी छन् ।
अहिले सम्म काँग्रेसका १२, एमालेका ७ र माओवादीका २ जना प्रदेश सभा सदस्यहरूले इन्डक्सन चुलो लगेको कोशी प्रदेश सभा सचिवालयले जनाएको छ । 
यसरी चुलो लाने काँग्रेसका प्रदेश सभा सदस्यहरूमा हिमाल कार्की, सुनिता चौधरी,लखिकुमारी गणेश,सुनिताकुमारी गुरुङ,भूमिप्रसाद राजवंशी, मैयाँ श्रेष्ठ र  गयानन्द मण्डल रहेका छन् । यस्तै काँग्रेसका डोल्मा तामाङ,इस्राइल मन्सुरी, खगेश्वरी पौड्याल, इन्दिरा थापा र  ममता तामाङ मगरले पनि इन्डक्सन चुलो लगेका छन् । 
एमालेका तर्फबाट प्रदेश सभा सदस्य भएका ललिताकुमारी चौधरी,बुद्धिकुमार राज भण्डारी,गीता रानी महतो,जयप्रकाश चौधरी,ज्ञानेन्द्र सुबेदी, लिलाबल्लभ अधिकारी र रामबहादुर मगरले पनि अनुदानमा आएको चुलो लगेका हुन् । नेकपा माओवादी केन्द्र इन्द्र आङ्बो र गीता तिम्सिनाले चुलो लगेको संसद् सचिवालयले जनाएको छ । 
सरकारले सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको इन्डक्सन चुलो खरिद गरेको हो । 
खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै कोसी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले टेन्डर मार्फत अगेनो ब्रान्डका ६१३ वटा विद्युतीय चुलो गत आर्थिक वर्षमा खरिद गरेको थियो । यसका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सरकारले विनियोजन गरेको एक करोड बजेटमध्ये ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरी चुलो प्रदेशसभा सदस्य र प्रदेश मातहतका कर्मचारीलाई वितरण गर्ने तयारी थियो । खरिद गरिएका मध्ये ३१ थान कर्मचारीका लागि छुट्टाइएको थियो । प्रदेश सभा सदस्यहरूका लागि ८८ वटा चुलो संसद् सचिवालयमा आएको छ । 
कर्मचारीका लागि आएका मध्ये  ३१ थान चुलो  कर्मचारीले बुझेर लगिसकेका छन् । प्रदेशसभा सचिवालयमा अहिले कुल ५१ जना कर्मचारी कार्यरत छन् ।
प्रदेशसभाका प्रवक्ता गौतम राज अमात्यले सचिवालयका ३१ जना  कर्मचारी र २१ जना  प्रदेश सभा सदस्यले  चुलो लगिसकेका बताए । उनले विरोधपछि २ वटा चुलो फिर्ता आएको  बताए ।  यो हाम्रो कार्यक्रम होइन मन्त्रालयले वितरण गर्नका लागि पठाएको हो । हामीले वितरण मात्रै गरेको हो । उनले भने यसको खरिद प्रक्रियाका बारेमा हामीलाई केही थाहा छैन । 
संसद् सचिवालयका कर्मचारी र प्रदेश सभा सदस्यलाई वितरण गर्नेका लागि प्रति चुलो १३ हजार चार सय रुपैयाँका दरले खरिद गरेको खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए । 
यसअघि पनि अघिल्लो सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक करोड ५० लाख रुपैयाँ प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्न रकमान्तर गरेका थिए । 
प्रदेशसभाले प्रदेशसभा सदस्यहरूलाई बाँड्ने गरी एक सय वटा ल्यापटप खरिदका लागि टेन्डर आह्वान गरेको थियो । तर प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठुला तीन दल नेकपा एमाले, काँग्रेस र माओवादी केन्द्रले सचिवालयले बाँड्ने ल्यापटप नलिने घोषणा गरेपछि गएको जेठ १० गते ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको थियो ।